+
Search

ताजा अपडेट +

पपुलर +

रियादमा ८ दिनदेखि योगीको शव अलपत्र, तनावमा परिवार

पालिका लाइभ
२०८२ मंसिर ६, शनिबार १७:२८ गते

साउदी अरब- रियादस्थित अल रबिया अस्पतालमा नेपाली नागरिक ॐ नाथ योगीको शव आठ दिनदेखि रोकिएको छ। बीमा र कागजात प्रक्रियामा देखिएको ढिलाइका कारण शव नेपाल पठाउने काम अघि बढ्न नसक्दा परिवार गम्भीर मानसिक तनावमा परेको परिवारजनले बताएका छन्।

प्रारम्भिक चिकित्सा प्रतिवेदनअनुसार योगीको मृत्यु दुवै मिर्गौला फेल हुँदा भएको हो। होस्टेलमा खाना पकाउने क्रममा बेहोस भएर लडेपछि अस्पताल पुर्‍याइए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ।

पीडितका साला बब्लु गिरीका अनुसार कम्पनीले बीमा तथा आवश्यक कागजात समयमै नपठाउँदा शव अस्पतालमै रोकिएको छ। ‘अस्पतालले पटक–पटक कागजात माग्दा पनि कम्पनीले कुनै तत्परता देखाएन। परिवार अत्यन्त पीडामा छ, छिटो हस्तक्षेपका लागि सबैलाई अपिल गर्छौँ,’ गिरीले भने।

यस बीच, रियादस्थित नेपाली दूतावासले शव क्लीयरन्स प्रक्रिया अगाडि बढाउन औपचारिक समन्वय थालेको छ। दूतावासकी कार्यकारी प्रमुख श्रीजना अधिकारीका अनुसार बीमा र कागजात उपलब्ध गराउन कम्पनीलाई आधिकारिक पत्र पठाइएको छ। ‘आवश्यक सबै प्रक्रिया अघि बढिरहेका छन्। परिवारको पीडा बुझ्दै दूतावास निरन्तर फोलोअपमा छ,’ अधिकारीले बताइन्।

दूतावासले साउदी प्रशासनसँग समेत कूटनीतिक समन्वय गर्दै शव क्लीयरन्स सहज बनाउन प्रयास गरिरहेको छ। साथै, शव नेपाल पठाउन आवश्यक पारिवारिक कागजात छिटो उपलब्ध गराउन आफन्तहरूसँग पनि सम्पर्क जारी रहेको अधिकारीले बताइन्।

घटना सार्वजनिक भएपछि प्रवासी नेपाली सम्पर्क विभाग, रियाद शाखाले पनि सक्रियता बढाएको छ। शाखाका सभापति मनीस लामाले सबै निकायसँग निरन्तर समन्वय भइरहेको बताउँदै भने, ‘शव क्लीयर गर्न आवश्यक प्रक्रियालाई छिटो बनाउनेतर्फ हामीले निरन्तर पहल गरिरहेका छौँ। परिवारको पीडा बुझ्दै समन्वय जारी छ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics