काठमाडौं – काठमाडौं महानगरपालिकाले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकलाई सरल, सहज, व्यवहारिक र वैज्ञानिक बनाउने संशोधन प्रक्रिया अघि बढाएको छ। शिक्षा विभागले यसका लागि विज्ञ समूह गठन गरेको छ।
बिहीबार आयोजित बैठकमा उपप्रमुख सुनिता डंगोलले स्थानीय भाषाको पाठ्यपुस्तक बालमैत्री बनाउनुपर्ने आवश्यकतामा जोड दिँदै भनिन् ‘पाठ्यपुस्तक केवल पढाउने र परीक्षा लिने माध्यम मात्र होइन, यसले समुदायको पहिचान र मौलिकतालाई स्थापित गर्ने भूमिका पनि खेल्छ। पाठ्यपुस्तक तयार गर्दा र पाठ्यक्रम तर्जुमा गर्दा यसलाई ध्यानमा राख्नु आवश्यक छ।’
उनले शिक्षा विभागका अधिकृतहरूलाई निर्देशन दिदैं भनिन् ‘नेपाल भाषा पढाउने शिक्षक÷शिक्षिकालाई प्राथमिकतामा राखेर क्षमता विकास कार्यक्रम सञ्चालन गर्नुपर्छ। यसअघि सामुदायिक विद्यालयका सहायक प्रशिक्षकहरूलाई तालिम दिइसकिएको भए पनि अब संस्थागत विद्यालयका शिक्षक÷शिक्षिकालाई प्राथमिकतामा राखेर तालिम दिन आवश्यक तयारी गह्रौँ ।’
महानगरले कक्षा १ देखि ८ सम्म नेपाल भाषाको पाठ्यपुस्तक ‘येँ देय् म्हसिके’ अर्थात् ‘काठमाडौंलाई चिनौँ’ कार्यान्वयनमा ल्याएको छ। यससँगै तामाङ भाषाको पाठ्यपुस्तक पनि लागू गरिएको छ।
यी विषयको परीक्षामा कक्षा ४ र ५ मा ७५ अंक अभ्यासगत र २५ अंक सैद्धान्तिक मूल्याङ्कन हुने व्यवस्था छ भने कक्षा ६, ७ र ८ मा ५०–५० अंक अभ्यासगत र सैद्धान्तिक मूल्याङ्कन हुने गरिएको छ।
स्थानीय पाठ्यपुस्तकका पाठहरूमा काठमाडौंका मौलिक नाम, धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्ष, जात्रा, चाडपर्व, संस्कार र परम्परागत संस्कृतिलाई चित्र र संकेतसहित प्रस्तुत गरिएको छ।
साथै, प्रमुख जाति नेवारको जनजीवन, कला, सिप, व्यवसाय, स्वास्थ्य, सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, बोल्ने भाषा, लेख्ने लिपि र परम्परागत खेलजस्ता विषयहरू पनि पाठ्यक्रममा समावेश छन्।
प्रतिक्रिया