+
Search

ताजा अपडेट +

पपुलर +

मतदान गर्न पाउने विदेशमा रहेका नेपालीहरूको नैसर्गिक अधिकार हो : स्वर्णिम वाग्ले

पालिका लाइभ
२०८२ कार्तिक २८, शुक्रबार ०८:२४ गते

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्लेले नेपालमा हुने निर्वाचनहरूमा मतदान गर्न पाउनु विदेशमा रहेका नेपालीहरूको नैसर्गिक अधिकार भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘विदेशमा रहेका नेपालीहरूले मतदान गर्न पाउने अधिकारको सुनिश्चितताको लागि सैद्धान्तिक र प्राविधिक प्रस्ताव’ बारे छलफलमा उनले निर्वाचनहरूमा मतदान गर्न पाउनु विदेशमा रहेका नेपालीहरूको पनि नैसर्गिक अधिकार भएको भन्दै पछिल्लो समयमा सर्वोच्च अदालतले यसलाई लागू गर्न निर्वाचन आयोगलाई निर्देशन गरेको बताए ।

उनले भने, ‘विदेशमा रहनु भएका दाजुभाइ दिदी बहिनीहरूले नेपालका संघीय निर्वाचन, प्रादेशिक र स्थानीय निर्वाचनहरूमा मतदान गर्न पाउनुपर्छ । यो उहाँहरूको नैसर्गिक अधिकार हो । हाम्रो राजनीतिक दलको मान्यता पनि त्यही हो । पछिल्लो समय सर्वोच्च अदालतले पनि पटक पटक निर्देश नै गरिरहेको छ । विदेशमा बस्नुहुने नेपाली नागरिकहरूको पनि नैसर्गिक अधिकारलाई लागू गर्नेतर्फ जान भनेको छ ।’

यस्तै, रास्वपा विदेशमा रहेका नेपाली नागरिकहरूले मतदान गर्न पाउनुपर्छ भन्ने कुराको पक्षमा सधैँ रहेको भन्दै अहिले समय उपयुक्त भएकाले यसलाई अझ जोडदार रूपमा सरकार समक्ष प्रस्तुत गर्दै आएको बताए ।

अब मतदानको उद्देश्यलाई पूरा गर्न सरकारलाई रास्वपाले प्राविधिक, कानुनी, राजनीतिक पुँजी सबै तरिकाले साथ सहयोग दिन तयार रहेको पनि उनको भनाई छ ।

सोही कार्यक्रममा बोल्दै प्रवक्ता मनिष झाले विदेशमा रहेका ६७ प्रतिशत नेपालीहरू मतदान गर्न इच्छुक रहेको र लगभग ४० प्रतिशतले मतदाता नामावलीमा नाम दर्ता गराइसकेको जानकारी दिए ।

३९ देशहरूमा प्राविधिक निर्वाचनको अभ्यास भइसकेको बताउँदै उनले ज्ञान,उदारता, विश्वस्त, स्रोत र कानुनी कुराले नेपालमा लागू हुन नसकेको धारणा राखे ।

त्यस्तै, उनले रास्वपाले स्थापनादेखि अहिलेसम्मको यात्रामा सुरुवातदेखि नै प्राविधिक रूपमा निर्वाचन प्रणालीको विषयमा विशेष जोड दिँदै आएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics