+
Search

ताजा अपडेट +

पपुलर +

प्रथम त्रैमासिक प्रगति समीक्षा:

जेनजी आन्दोलनको भावनाअनुरुप सेवा प्रवाह गर्न कर्मचारीहरूलाई प्रधानमन्त्रीको निर्देशन

पालिका लाइभ
२०८२ कार्तिक २७, बिहीबार १६:४८ गते

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको भावना र मर्मअनुसार सेवाग्राहीमैत्री सेवा प्रदान गर्न कर्मचारीहरूलाई निर्देशन दिएकी छिन्।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायहरूको आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले यस्तो निर्देशन दिएकी हुन्।

प्रधानमन्त्रीले कर्मचारीहरूले जेनजी आन्दोलनको भावना अनुसार उच्च मनोबलका साथ कार्यसम्पादन गर्दै चालु आर्थिक वर्षका लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिइन्। भदौ २३–२४ मा आन्दोलनका क्रममा सार्वजनिक संरचना तथा सम्पत्तिमा भएको तोडफोड र आगजनीले केही कार्यसम्पादन प्रभावित भएको उल्लेख गर्दै उनले खर्च प्रतिशत सन्तोषजनक नभएको बताइन्।

प्रधानमन्त्रीले बाँकी अवधिमा सबै निकायका प्रमुखहरूले कार्यलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने, स्वीकृत वार्षिक कार्यक्रम, कार्ययोजना र माइलस्टोन अनुसार समयमै लक्ष्य हासिल गर्न जिम्मेवारी लिनुपर्ने निर्देशन दिइन्। साथै जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण अद्यावधिक गरी एकीकृत प्रतिवेदन तयार गर्न पनि भनिएको छ।

सार्वजनिक निकायको संवेदनशील विषयसम्बन्धी इजिपी प्रणालीको सर्भर स्तरोन्नतिको लागि आवश्यक आइटी उपकरण समयमै खरिद गर्नुपर्ने, अर्थ मन्त्रालयमा राय आवश्यक परे सहजीकरण गरी समयमै उपलब्ध गराउनुपर्ने आवश्यकता उनले औँल्याइन्।

फाइनान्सियल कार्य कार्यदल (एफएटिएफ)को ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्न सम्बन्धित निकायहरूबाट सम्पन्न कार्यहरूको समन्वय, अनुगमन र सहजीकरण प्रधानमन्त्री कार्यालयले गर्नुपर्ने पनि उनले स्पष्ट पारिन्।

सरकार सुशासनयुक्त र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा प्रतिबद्ध रहेको भन्दै सार्वजनिक निकायका काम निष्पक्ष, स्वच्छ र सेवाग्राहीमैत्री हुने गरी राष्ट्रिय सतर्कता केन्द्रले निगरानी बढाउन निर्देशन दिइएको छ।

प्रधानमन्त्री कार्कीले बाँकी आर्थिक वर्षका कार्यहरू उच्च प्राथमिकतामा राखेर लक्ष्य हासिल गर्न आवश्यक व्यवस्था मिलाउन राष्ट्रसेवक कर्मचारीहरूलाई जोड दिएकी छिन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics