+
Search

ताजा अपडेट +

पपुलर +

रक्षासचिव अर्याललाई मुख्यसचिव बनाउने सरकारको तयारी

पालिका लाइभ
२०८२ कार्तिक २७, बिहीबार १४:३७ गते

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले रक्षासचिव सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गर्ने तयारी गरेको छ। हालका मुख्यसचिव एकनारायण अर्याल उमेर हदका कारण आगामी मंसिर १० मा अनिवार्य अवकास पाउँदै छन्।

एकनारायण अर्यालको अवकासपछि वरियतामा अगाडि रहेका रक्षासचिव सुमनराज अर्याललाई मुख्यसचिव बनाउने सरकारको तयारी भएको स्रोतले जनाएको छ। मुख्यसचिव एकनारायणले अवकासअघि केही दिनमै राजीनामा दिने सम्भावना पनि रहेको बताइएको छ।

मुख्यसचिवलाई हटाउने दबाब रहे पनि प्रधानमन्त्री कार्कीको सहयोगका कारण उनी कार्यकाल पूरा गरी अवकासमा जाँदै छन्। उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव नियुक्त गरेका थिए।

रक्षासचिव सुमनराज अर्याल तथ्यांक सेवाका कर्मचारी हुन्। उनी २०७७ माघ ११ मा सचिवमा बढुवा भएका थिए। मुख्यसचिव नियुक्त भए उनले करिब आठ महिना सो पदमा काम गर्नेछन्, नत्र भने आगामी माघमा अवकास पाउने छन्।

यदि सुमनराज अर्याल मुख्यसचिव नबने, भने श्रमसचिव कृष्णहरि पुष्करको नाम मुख्यसचिवका लागि प्रवल मानिएको छ।

यसअघि सरकारले प्रहरी महानिरीक्षकमा वरियतामा अगाडि रहेका एआईजी दानबहादुर कार्कीलाई नियुक्त गरेको थियो। सोही ढाँचामा कर्मचारी प्रशासनतर्फ पनि अर्याललाई मुख्यसचिव बनाउने सहमति बनेको उच्च स्रोतले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics