काठमाडौं- वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० प्रकारका रोगका भाइरस एकै पटक परीक्षण गर्न सुरु गरिएको छ।
अस्पतालको मेडिकल जेनेटिक्स (अनुवांशिक) प्रयोगशालामा मेडिकल अनुवांशिक विभागका प्रमुख डा. निलम ठाकुरका अनुसार पहिले बिरामीको फरक–फरक समयमा ती रोगका भाइरसको परीक्षण गर्दा रोग पत्ता लगाउन समस्या हुने गरेको थियो।
अहिले एकै पटक १० प्रकारका भाइरसको परीक्षण गर्दा खर्च कम लाग्ने र कुन भाइरसले कुन रोग गराएको छ भन्ने कुरा सजिलै पत्ता लाग्ने डा. ठाकुरले बताए।
बिरामीमा भाइरस पत्ता लागेपछि अस्पतालमै उपचार गरिनेछ। त्यस्तै, प्रयोगशालामा मस्तिष्क सङ्क्रमणसम्बन्धी ६ प्रकारका भाइरसको पनि एकै पटक परीक्षण सुरु गरिएको छ। फोक्सोबाहेक अन्य अंगमा लाग्ने क्षयरोगको परीक्षण समेत यहाँ गरिन्छ।
विसं २०७३ मा स्थापना गरिएको यो प्रयोगशालामा अनुवांशिक रोगको पहिचान र उपचार गरिन्छ। तर जनशक्ति र उपकरण अभावका कारण रोगको नियमित परीक्षण हुन सकेको छैन। डा. ठाकुरका अनुसार, “हामीसँग तीन जना मात्रै जनशक्ति छन् र उपकरण पनि पर्याप्त छैन, त्यसैले दैनिक परीक्षण गर्न सकिरहेका छैनौं।”
अहिले प्रयोगशालामा २५ प्रकारका अनुवांशिक रोगका भाइरसको नियमित परीक्षण हुने व्यवस्था गरिएको छ। परीक्षण एक दिनमा पालोअनुसार गरिन्छ।
प्रतिक्रिया