काठमाडौं– काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री दीपक खड्काले बनाएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको छ ।
आज बिहान महानगर प्रहरीहरु डोजरसहित पुगेर संरचनाहरु भत्काएका हुन् ।
कांग्रेस नेता खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएका छन् । तर लामो समयदेखि भाडा तिरेका छैनन् । त्यसैले २० कात्तिकमा स्काउटले सूचना जारी गरेर भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो । सो म्याद आज सकिएको छ ।
स्काउटले आफ्नो जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने र त्यसबाट पनि भाडा असुल उपर नभए खड्काको जायजेथाबाट लिने चेतावनी दिएको थियो ।
स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ । त्यस्तै, माई च्वाइस नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ ।
स्काउटका दुई वटा व्यवसायिक भवनसमेत खड्का ल्याण्डले भाडा लगाइरहेको छ । दुई व्यवसायिक भवनमध्ये पहिलोमा ३६ र दोस्रोमा १२ वटा पसल रहेका छन् ।
यी दुई भवनमध्ये पहिलो भवन २०६३ र दोस्रो २०६४ सालमा टेन्डर गरेर खड्का ल्याण्ड डेभलपमेन्टलाई दिइएको थियो ।
प्रतिक्रिया