जनकपुरधाम – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार पदभार ग्रहण गरेका छन्। असहज परिस्थितिका बाबजुद उनले मधेश भवन प्रवेश गरी औपचारिक रूपमा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका हुन्।
तर, यादवले पदभार ग्रहण गरिरहँदा मधेश भवन अगाडि सात राजनीतिक दलका सांसद, नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरे। विरोधका क्रममा सांसद र दलका नेता तथा कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो। प्रहरीले लाठीचार्ज गर्दै भिडलाई तितरबितर बनाएको छ। यस घटनाले मधेश भवन वरिपरि तनाव सिर्जना गरेको छ।
यसैबीच, सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश दिएको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले सुविधा र सन्तुलनको दृष्टिकोणमा निर्णय गर्दै यस्तो आदेश जारी गरेको हो। अदालतको आदेश मुद्दाको अन्तिम निर्णय नआउँदासम्म लागू हुनेछ।
मधेश सरकार संविधानको धारा १६८ को उपधारा ३ अनुसार गठन भएको थियो। गत आइतबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूको सहमतिबिना नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
सोमबार बिहान प्रदेश प्रमुख भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस होटेलमा यादवलाई शपथ खुवाएकी थिइन्।
शपथ ग्रहणसँगै प्रदेश प्रमुख भण्डारी पदमुक्त भइसकेकी थिइन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई मंगलबार पदमुक्त गरेका थिए। नयाँ प्रदेश प्रमुखको रूपमा सुरेन्द्र लाभ कर्णले शपथ लिएका छन्।
प्रतिक्रिया