+
Search

ताजा अपडेट +

पपुलर +

विश्वकप लिग–२ः

नेपालको लगातार तेस्रो हार, अमेरिका ४ विकेटले विजयी

पालिका लाइभ
२०८२ कार्तिक १५, शनिबार १९:३३ गते

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा भइरहेको ओडिआई शृंखलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपाललाई अमेरिकाले ४ विकेटले हराएको हो ।

नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । अमेरिकाका लागि साइतेजा मुक्कमल्लाले सर्वाधिक ७५ रन बनाए । त्यस्तै मिलिन्द कुमारले ७० रन बनाए । शयान जहागिरले ३६ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ५३ रन दिएर ३ विकेट लिए । नन्दन यादव, करण केसी र गुल्शन झाले १-१ विकेट लिए ।

त्यसअघि दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले दीपेन्द्रसिंह ऐरीको अर्धशतक तथा करण केसीको फिनिसिङ मद्दतमा ४९ ओभर ५ बलमा अलआउट हुँदै २७१ रन बनाएको थियो ।

दीपेन्द्रले सर्वाधिक ७५ रन बनाए । करण केसीले अन्त्यतिर आक्रामक फिनिसिङ गर्दै ३१ बलमा ४९ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाए ।

अमेरिकाका लागि हर्मीत सिंहले १० ओभरमा ३३ रन दिएर ३ विकेट लिए । सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २-२ विकेट लिए भने जसदिप सिंह र शुभम रन्जानेले १-१ विकेट लिए ।

पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो ।

यूएईमा जारी सिरिजमा अमेरिका तीनमध्ये सबैमा जित निकाल्दै अपराजित छ। नेपालले भने तीन खेल खेल्दा तीनवटैमा पराजित भएको छ।

यसको प्रभाव अंकतालिकामा पनि देखिन्छ।

अमेरिका २३ खेलबाट ३४ अंक बनाएर शीर्षमा रहँदा नेपाल १९ खेलबाट १२ अंक बनाएर ७ औँ स्थानमा छ। यसले विश्वकपको ग्लोबल क्वालिफायर्समा पुग्ने त टाढाको कुरा एकदिवसीय मान्यतासमेत जोखिममा पर्दै गएको देखिन्छ।

नेपालकाे आगामी खेल बुधबार यूएईविरुद्ध हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics