काठमाडौं- मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति हुने भएको छ।
हालै पोखरामा सम्पन्न बैंकको उन्नाइसौँ वार्षिक साधारण सभाले वाणिज्य बैंकमा स्तरोन्नति गर्ने प्रस्ताव पारित गरेको हो।
अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा बसेको सभाले चुक्ता पूँजी नौ अर्ब तीन लाख रुपैयाँ पुर्याउने निर्णयसहित स्तरोन्नतिको प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ।
शनिबार सम्पन्न सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरूलाई १८.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। उक्त लाभांशमध्ये १३.५३ प्रतिशत बोनस सेयर र बाँकी ४.६७ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशको करसहित) रहनेछ।
अध्यक्ष मल्लका अनुसार पूँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने र नेपाल राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार वाणिज्य बैंकमा स्तरोन्नतिको प्रक्रिया अघि बढाउन आवश्यक तयारी सुरु गरिएको छ।
‘पूँजी वृद्धिका लागि प्रबन्धपत्र संशोधन गर्ने र नेपाल राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार वाणिज्य बैंकमा स्तरोन्नतिको लागि प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिइएको छ’ अध्यक्ष मल्लले भने ।
सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि लेखा परीक्षकको नियुक्तिसहितका सामान्य प्रस्तावहरू पनि पारित गरेको छ।
वार्षिक प्रतिवेदनमाथि विभिन्न सेयरधनीहरूले सल्लाह, सुझाव र जिज्ञासा व्यक्त गरेका थिए, जसका सम्बन्धमा अध्यक्ष मल्ल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले स्पष्टीकरण प्रदान गरेका थिए।
प्रतिक्रिया