+
Search

ताजा अपडेट +

पपुलर +

उत्तरी गोरखामा हिमपातले जनजीवन कष्टकर

पालिका लाइभ
२०८२ कार्तिक ११, मंगलवार १०:०६ गते

गोरखा– उत्तरी गोरखाका विभिन्न गाउँमा गए रातिदेखि निरन्तर हिमपात भइरहेको छ। चुमनुब्री गाउँपालिकाका विभिन्न वडामा परेको हिउँका कारण जनजीवन प्रभावित भएको छ।

वडा नं ७ का पासाङफुञ्जो लामाले राति हल्का पानीसँगै सुरु भएको हिमपात अहिले पनि जारी रहेको बताए। उनले भने, ‘गएराति हल्का पानी पर्न थालेको थियो, त्यसपछि राति नै हिउँ पर्‍यो। अहिले पनि हिउँ परिरहेको छ। मानिसहरू घरभित्रै आगो तापेर बसेका छन्, चौँरीहरू पनि गोठभित्र राखिएका छन्।’

तीन हजार मिटरभन्दा माथि रहेका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ र छेकमलगायत गाउँ हिउँले सेताम्य बनेका छन्। त्यस्तै वडा नं १ का सामागाउँ, साम्दो तथा वडा नं २ का स्याला, ल्होलगायत गाउँ पनि हिउँले ढाकिएका छन्।

हिमपातका कारण मनासलु क्षेत्रमा भ्रमणमा रहेका पर्यटकहरू पनि प्रभावित भएका छन्। पाँच हजार १०६ मिटर उचाइमा रहेको लार्के पासतर्फ गएका पर्यटक सामागाउँ र साम्दोमै रोकिएको स्थानीयले जनाएका छन्।

यद्यपि हिउँ पर्नुबाट खेतीबाली र जडीबुटी उत्पादनमा लाभ हुने भएकाले स्थानीय खुसी छन्। स्थानीयका अनुसार हिउँ परेपछि बारीका खेतीबाली, लेकका यार्सागुम्बा र अन्य जडीबुटी फस्टाउने गर्छन्। हिउँ नभएको वर्षलाई उनीहरू ‘भोकमरीको वर्ष’ भनेर सम्झने परम्परा छ।

यतिबेला जाडो छल्न शहरतिर गएका केही स्थानीय फुर्सदको समय मिलाएर गाउँ फर्किन थालेका छन्। हिमपातपछि गाउँका बस्ती र पहाडहरू सेताम्य बनेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics