काठमाडौं– गत असोज महिनामा देशभरका मालपोत कार्यालयहरूले घरजग्गा कारोबारबाट कूल दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ रुपैयाँ राजस्व संकलन गरेका छन्।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका दुई दर्जनभन्दा बढी मालपोत कार्यालयमा आगजनी र क्षति पुगेको थियो। त्यसपछि चाडपर्व र आन्दोलनका कारण कार्यालय सञ्चालनमा कठिनाइ हुँदा असोज महिनाको राजस्व संकलन सामान्य रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।
विभागका अनुसार असोज महिनामा सेवा करबाट २१ करोड ३० लाख ७५ हजार २६० रुपैयाँ, रजिष्ट्रेशन शुल्कबाट एक अर्ब ४४ करोड १६ लाख ८७ हजार ७५५ रुपैयाँ र पुँजीगत लाभकरबाट एक अर्ब ६ करोड १९ लाख ३५ हजार ५३७ रुपैयाँ संकलन भएको छ।
मालपोत कार्यालय चाबहिल, काठमाडौंले सबैभन्दा बढी २७ करोड ४२ लाख ९६ हजार २१० रुपैयाँ राजस्व संकलन गरेको छ। आगलागी र तोडफोडमा परेको कलङ्की मालपोत कार्यालयले पनि ४१ लाख ५० हजार ३७१ रुपैयाँ राजस्व संकलन गरेकाे छ।
त्यस्तै मालपोत कार्यालय बुटवलले पाँच करोड तीन लाख ५६ हजार ६३९ रुपैयाँ, दमक, झापाले दुई करोड ८६ लाख ४१ हजार ३९० रुपैयाँ र मनमैजु, काठमाडौंले चार करोड ७७ लाख २३ हजार ३६१ रुपैयाँ बराबरको राजस्व संकलन गरेका छन्।
गत असोज महिनामा २३ हजार ३५३ वटा लिखत पारित भएका छन्।
यस्तै २ हजार ४४२ वटा नामसारी, २३ हजार ९१४ वटा रोक्का र १७ हजार ९३० वटा फुकुवा भएका छन्।
विभागका अनुसार सो महिनामा देशभर ७९ हजार ७३९ वटा घरजग्गासँग सम्बन्धित कारोबार दर्ता भएका छन्।
प्रतिक्रिया