काठमाडौं- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असोज महिनासम्मको अवधिमा गर्त वर्षको तुलनामा आन्तरिक राजस्व संकलन घटेको छ ।
महानगरपालिका राजस्व विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा महानगरको आम्दानीको प्रमुख स्रोत मानिने आन्तरिक राजस्व संकलनमा भने सङ्कुचन आएको देखिएको छ ।
महानगरको आन्तरिक राजस्व शीर्षकमा अघिल्लो वर्षको तुलनामा १.११ प्रतिशतले कमी आई कुल १ अर्ब ६१ करोड ६१ लाख ४० हजार ६ सय २४ रुपैयाँ ६१ पैसा संकलन भएको छ । अर्थात गत आवको तुलनामा अहिले १ करोड ८१ लाख ५० हजार रुपैयाँ आन्तरिक राजस्व घटेको हो ।
सम्पत्ति करमा १३.७९ प्रतिशत, पर्यटन शुल्कमा ३.४४ प्रतिशत, नक्सापास दस्तुरमा ३४.७८ प्रतिशत र धरौटीमा शतप्रतिशतले गिरावट आएको छ । नक्सापास दस्तुरमा अघिल्लो वर्ष १० करोड ४३ लाख ९७ हजार ७७ रुपैयाँ ७९ पैसा संकलन भएकोमा यस वर्ष ६ करोड ५५ लाख १ हजार ३ सय ७७ रुपैयाँ ७७ पैसामा झरेको छ ।
आन्तरिक राजस्वका शीर्षकहरूमा भने उत्साहजनक वृद्धि देखिएको छ । घरबहाल करमा ८.९३ प्रतिशतको वृद्धि भई ८५ करोड ५ लाख ३६ हजार ४ सय ४ रुपैयाँ ९० पैसा पुगेको छ । यसैगरी, शिक्षा क्षेत्रको आम्दानीमा अघिल्लो वर्षको तुलनामा ३३६.९५ प्रतिशतको विशाल वृद्धि भएको छ ।
जुन १ करोड ६० लाख ५ हजार १ सय ९ रुपैयाँ ९१ पैसा पुगेको छ । प्रशासनिक दण्ड, जरिवाना र जफत शीर्षकमा पनि ५१.०८ प्रतिशतको वृद्धि भई १ करोड ४ लाख ३३ हजार ८ सय ६८ रुपैयाँ ४० पैसा संकलन भएको छ ।
बाँडफाँडबाट प्राप्त राजस्वमा १.७४ प्रतिशतको सामान्य वृद्धि भई कुल ३६ करोड ५३ लाख १६ हजार ३ सय ११ रुपैयाँ ७५ पैसा पुगेको छ ।
यसमा घरजग्गा रजिष्ट्रेशन दस्तुर ०.६० प्रतिशतले र सवारी साधन कर १४.७१ प्रतिशतले बढेको छ अनुदानतर्फ समग्रमा ४.९४ प्रतिशतको वृद्धि भई कुल ७१ करोड ८४ लाख ७ हजार ९ सय ९८ रुपैयाँ ७१ पैसा पुगेको छ ।
सरकारबाट प्राप्त समानीकरण अनुदान र शर्त अनुदान (चालु तथा पूँजीगत) मा क्रमशः ५.११ प्रतिशत, १०.०८ प्रतिशत र ४३.०९ प्रतिशतको वृद्धि भएको छ। तर, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, सशर्त अनुदान (चालु) र सशर्त अनुदान (पूँजीगत) रकम भने प्राप्त भएको देखिँदैन ।
यस वर्ष ’अन्य व्यक्तिगत आन्तरिक अनुदान’ शीर्षकमा नयाँ २ करोड ४८ लाख ९९ हजार ९ सय ९८ रुपैयाँ ७१ पैसा आम्दानी भएको छ ।
प्रतिक्रिया