काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्राविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। केही साताअघि जेन–जीको सरकार गठनपछि स्वास्थ्य मन्त्री बन्ने चर्चा चलेकी मिश्रामाथि अख्तियारले आरोपपत्र पेश गरेको हो।
अख्तियार स्रोतका अनुसार, ‘विशेष अदालतमा आरोपपत्र पेश भइसकेको छ। फाइल रुजु र दर्ता प्रक्रिया चलिरहेको छ,’ स्रोतले बताए।
डा. मिश्राले स्वास्थ्य सचिव बन्ने आकांक्षा राखेकी थिइन्। तर सरकारले उनको सट्टा डा. विकास देवकोटालाई स्वास्थ्य सचिव नियुक्त गरेपछि उनी बिदामा गएकी थिइन्।
जेन-जीको आन्दोलनपछि नयाँ सरकार बनेसँगै उनी पुनः मन्त्रालय आवतजावत गर्न थालेकी थिइन्। स्वास्थ्यमन्त्रीको रूपमा उनको नाम चर्चामा आएपछि उनले राजीनामा दिएकी थिइन्।
त्यही क्रममा अख्तियारका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्की निकट संयन्त्रलाई “डा. मिश्रामाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको र छिट्टै भ्रष्टाचारको आरोपपत्र दर्ता हुन सक्ने” जानकारी गराएका थिए। उक्त जानकारी सार्वजनिक भएपछि मन्त्री बन्ने चर्चा एकाएक थामिएको थियो।
अख्तियारले स्वास्थ्य सेवा विभागकी महानिर्देशक रहँदा उनले गरेका खरिदसम्बन्धी अनियमिततासँग सम्बन्धित फाइलमा मुद्दा दायर गरेको हो।
प्रतिक्रिया