+
Search

ताजा अपडेट +

पपुलर +

जेनजी आन्दोलनका क्षतिपूर्तिमा बीमा कम्पनीहरूको सुस्त भुक्तानी, २३ अर्ब दाबीमध्ये २ अर्ब मात्र वितरण

फाइल तस्बिर
पालिका लाइभ
२०८२ आश्विन ३१, शुक्रबार १०:२३ गते

काठमाडौं– गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म २३ अर्ब २२ करोड ७८ लाखबराबरको बीमा दाबी गरिएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार पछिल्लो विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूले एक अर्ब ५८ करोड ५६ लाखबराबरको भुक्तानी गरिसकेका छन् ।

बीमाबापतको रकम सहज र शीघ्र रूपमा उपलब्ध गराउन प्राधिकरणले देखाएको सक्रियताका कारण धमाधम अग्रिम रूपमा भुक्तानी गरिएको जनाइएको छ । हालसम्म कुल तीन हजार ९९ बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।

कुल दाबीमध्ये सम्पत्ति बीमा छ सय ५३, मोटर बीमा दुई हजार २०६, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा एक सय ९०, परिवहन बीमा १२ र अन्य बीमा ३८ रहेका छन् ।

त्यसैगरी, कोशी प्रदेशमा तीन सय ९६, मधेसमा तीन सय ५५, वाग्मतीमा एक हजार ६६९, गण्डकीमा दुई सय १२, लुम्बिनीमा दुई सय ४६, कर्णालीमा २२ र सुदूरपश्चिम प्रदेशमा एक सय ९९ बीमा दाबीको आवेदन परेको छ ।

प्राधिकरणका अनुसार यो विवरण यही असोज २३ गतेसम्मको हो ।

प्राधिकरणका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा सर्वाधिक बढी अर्थात् पाँच अर्ब ६१ करोड ४४ लाखबराबरको बीमा दाबीको आवेदन परेको छ । सो कम्पनीले ५९ करोड ४४ लाखबराबरको रकम बीमितलाई भुक्तानी गरेको छ । त्यसैगरी, दी ओरियण्टल इन्स्योरेन्समा पाँच अर्ब २४ करोड ४७ लाखबराबरको बीमा दाबीको आवेदन परेको छ । सो कम्पनीले पाँच लाख ७० हजारबराबरको रकम भुक्तानी गरेको छ ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा दुई अर्ब ७५ करोड ९७ लाखबराबरको बीमा दाबीको आवेदन परेको छ । सो कम्पनीले ३० करोड ४३ लाखबराबरको रकम बीमितलाई वितरण गरेको छ ।

शिखर इन्स्योरेन्समा दुई अर्ब ४० करोड ८६ लाखबराबरको बीमा दाबी भएको छ । सो कम्पनीले ३१ करोड ९४ लाखबराबरको रकम उपलब्ध गराएको छ ।

मुलुकभर हाल कुल माइक्रो इन्स्योरेन्स कम्पनीसहित १८ निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।

गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको आगजनी र तोडफोडमा परेका निजी संरचनाको हकमा बीमा भए पनि सरकारी र सार्वजनिक सम्पत्तिको भने बीमा नभएको पाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics