+
Search

ताजा अपडेट +

पपुलर +

सुन तस्करी प्रकरण :

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ, ८ करोडभन्दा बढीको सुन तस्करी प्रकरणमा संलग्नता आरोप

भन्सारका नासु र महराका छोरासहितको मिलेमतो खुलासा, सीआईबीले तेस्रो चरणको अभियोजन अघि बढायो

पालिका लाइभ
२०८२ आश्विन २६, आईतवार १७:१० गते

काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई आइतबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो।

२०७९ साल पुस १० गते फ्लाई दुबईको फ्लाइट नम्बर एफजेट ०५८७ मार्फत काठमाडौं आएका चिनियाँ राहदानीधारी लि हानसोंगले दुईवटा सुटकेश ल्याएका थिए। ती सुटकेशभित्र ७३ वटा बट्टामा राखिएका ७३० थान भेप (इ–सिगरेट) रहेका थिए। ती भेपभित्र सुन लुकाएर ल्याइएको खुलेको छ। सो सुनको मूल्य करिब ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको रहेको अनुसन्धानले देखाएको हो।

उक्त सुन भन्सारका नासु रेवन्त खड्कासहितको मिलेमतोमा बेचिएको तथ्य पनि अनुसन्धानले पुष्टि गरेको छ। भन्सारमा सुन छुटाउनका लागि महराले दबाब दिएको आरोप लागेको छ। यसअघि यही प्रकरणमा उनका छोरा राहुल महरा पक्राउ परेर कारागार चलान भइसकेका थिए।

दुईवटा सुटकेश शंकास्पद देखिएपछि चेकजाँच गर्दा भेप देखिएपछि विमानस्थल भन्सार कार्यालयले ती सुटकेश नियन्त्रणमा लिएको थियो। त्यसपछि पासपोर्ट फिर्ता लिएर लि हानसोंगले अर्को दिनै काठमाडौं छाडेका थिए। भेप भने लामो समयसम्म भन्सारमै थन्किएको थियो। पछि भेपमा तस्करीको सुन भएको सूचना पाएपछि विमानस्थलका केही कर्मचारीले ती भेप सुटुक्क साटेका थिए।

भेप साटिएको शंका लागेपछि २६ वैशाखमा भन्सार कार्यालयले सीआईबीलाई पत्र लेख्दै अनुसन्धानको अनुरोध गरेको थियो। करिब दुई महिनासम्म अनुसन्धान गरेपछि सीआईबीले भन्सारका नासु रेवन्त खड्कासहित छ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, उनका गाडी चालक लोकेन्द्र पौडेल, राहुल महरा र नीमा गुरुङलाई मतियारका रूपमा मुद्दा दायर गरिएको थियो। अहिले महरा पक्राउ परेसँगै यो प्रकरणको तेस्रो अभियोजन हुने भएको छ।

महरा संलग्न रहेको सो सुन तस्करी फाइलमा अनुसन्धान अघि बढाउने क्रममा केही दिनअघि उनको बयान पनि लिइएको थियो। त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउने योजनामा संलग्न चिनियाँ नागरिक लि हानसोंग र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

यसअघि नै अनुसन्धानको दायरामा परेका महराविरुद्ध सत्ता र शक्तिको आडमा अनुसन्धान फाइल अघि बढ्न नसकेको बताइन्छ। अहिले भने सीआईबीले फाइल पुनः खोलेर थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics