+
Search

ताजा अपडेट +

पपुलर +

लिचीबारी प्रकरण :

दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर, कसलाई कति बिगो माग ?

पालिका लाइभ
२०८२ आश्विन २२, बुधबार १६:५१ गते

काठमाडौं– पोखराको ‘लिचीबारी’ घुस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ सहित सात जनालाई प्रतिवादी बनाएको हो।

आयोगले उनीहरूमाथि ७८ लाख रुपैयाँ बिगो मागदाबी गरेको जनाएको छ।

गत असार २८ गते तत्कालीन मन्त्री गुप्ताले ५३ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएपछि उक्त प्रकरण सार्वजनिक चासोमा आएको थियो। उनले कास्कीस्थित मालपोत कार्यालय प्रमुखको सरुवा र अनुकूल व्यक्ति व्यवस्थापन गर्ने आश्वासन दिँदै रकम लिएको आरोप छ।

अख्तियारका अनुसार दुई पूर्वमन्त्रीसँगै सो घुस कारोबारमा संलग्न कसुरमा बिचौलियाहरूलाई पनि प्रतिवादी बनाइएको छ। आयोगले अनुसन्धान पूरा गरी म्यादभित्र विशेष अदालतमा अभियोग पत्र दर्ता गरेको जनाएको छ।

कसको थियो र कसको बनाउन खोजियो?

पोखरा–१६ मा रहेको १३५ रोपनी जग्गा, जसलाई हाल ‘लिचीबारी’ भनेर चिनिन्छ, लामो समयदेखि विवादको केन्द्रमा छ। राजा महेन्द्रले उक्त जग्गा दुर्गादेवी शाहलाई बकस दिएको दाबी गरिन्छ। तर, २०१७ सालतिर नै मुस्ताङबाट आएका थकालीहरूले सो जग्गा किनिसकेका थिए भन्ने विवरणहरू पनि पाइन्छन्।

थकाली समुदायका इन्द्र गौचनका अनुसार २०३२ सालमै उनीहरूको नाममा लालपुर्जा बनेको र पछि २०६९ सालमा हालसाबिक भएको हो। तर, दुर्गादेवी शाहका नाति सुरज शाह ठकुरीले ती जग्गा आफ्नो हजुरआमाको नाममा रहेको भन्दै अदालतमा मुद्दा हालेका थिए।

उच्च अदालत, पोखराले दुर्गादेवीकै पक्षमा फैसला गरेपछि भू-माफिया समूहले सो फैसलामा टेकेर ठुलो जग्गा हत्याउने प्रयास गरेको बताइन्छ।

त्यसपछि दुर्गादेवी शाहका नाति र आफन्तको नाममा करोडौँ मूल्यको जग्गा भागबन्डा मिलाउने प्रपञ्च सुरु भएको आरोप लागेको छ। यसै सन्दर्भमा, कास्की भूमि आयोगका अध्यक्ष तथा एमाले नेता खेमबहादुर पुनको नाम पनि चर्चामा आएको छ।

उनलाई सो पदमा नियुक्त गराउन ५३ लाख रुपैयाँ घुसको अडियो सार्वजनिक भएको थियो।

लिचीबारीकै बासिन्दा सुशील गौचन भन्छन्,’हाम्रा बा मुस्ताङबाट आएर यो जग्गा किन्नुभएको हो। यो हाम्रो नाभी गाडिएको ठाउँ हो। हाम्रा बाले सर्वस्व खन्याएको जमिनमाथि अहिले जोरीपारी र दाबेदारी भइरहेका छन्, जुन हामी थकालीका लागि पीडादायी छ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics