काठमाडौं– नेकपा एमाले नेता महेश बस्नेतले आज पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्ने भएका छन्।
सुधन गुरुङलगायत जेन-जी आन्दोलनकारीले उनीविरुद्ध पक्राउको लागि दबाब दिँदै आएको अवस्थामा बस्नेतले सबै विषय प्रस्ट पार्ने तयारी गरेका छन्।
बस्नेतविरुद्ध शोभा पाठकले साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। अनुसन्धान अघि नबढेपछि केही दिनअघि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रहरीले अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो। सोही अनुसार बस्नेत बुधवार केन्द्रीय साइबर ब्युरो, भोटाहिटीमा उपस्थित भई डेढ घण्टासम्म लिखित बयान दिएका छन्।
ब्युरोका एसपी तथा प्रवक्ता दीपक राज अवस्थीका अनुसार, ‘उहाँ बयान दिएर भर्खरै निस्कनु भएको छ। सरकारी वकिल कार्यालयको निर्देशनअनुसारको काम भएको हो।’ स्रोतका अनुसार बस्नेतले सरकारी वकिल कार्यालयले तयार पारेका तीनवटा टास्कमध्ये एउटा बयानसम्बन्धी काम सकाइसकेका छन् र बाँकी दुई काम सकिएपछि प्रतिवेदन पेश गरिनेछ।
जेन-जी आन्दोलनसँग सम्बन्धित घरमा आगजनी र लुटपाटका घटनापछि आक्रोशित भएका बस्नेतले आतंककारी गतिविधि गर्नेहरूको पहिचान गरी कारबाही गर्ने बताए। त्यसयता बस्नेत र सुधन गुरुङबीच आरोप-प्रत्यारोप जारी रहेको छ।
उनकै पहलमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि पार्टी कार्यालय च्यासलमा रहेका छन्।
प्रतिक्रिया