+
Search

ताजा अपडेट +

पपुलर +

धादिङको पहिरो छल्न प्रयोग गर्न सकिन्छ ३ वैकल्पिक सडक

पालिका लाइभ
२०८२ आश्विन ७, मंगलवार ११:२२ गते

काठमाडौं- धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोला (बाँदरे मोड)मा मंगलबार बिहान ४:५० बजे ठूलो सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएपछि दुईतर्फी सवारी साधन रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् ।

जिल्ला प्रशासन कार्यालय धादिङले जारी गरेको सूचनामा पहिरो पन्छाउने काम भइरहेको र पहिरो ठूलो भएकाले तत्कालै सडक सञ्चालन गर्न नसकिने जनाइएको छ ।

यसबीच सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

पहिलो विकल्प

यदि काठमाडौंबाट पश्चिमतर्फ जाँदै हुनुहुन्छ भने नौबिसेबाट हेटौंडा निस्किएर जान सकिन्छ । पूर्वतिरबाट काठमाडौं आउनेहरुले पनि यही बाटो प्रयोग गर्न सक्छन् । यो बाटो अलि साँघुरो र धेरै घुम्ति छ ।

दोस्रो विकल्प

दोस्रो विकल्प धादिङको मलेखु (फुर्के खोला)बाट छ ।

फुर्केखोलाबाट धादिङको सल्यानटार हुँदै गोरखाको आरुघाट तनहुँको आँबुखैरेनी निस्किन सकिन्छ । आँबुखैरेनीबाट पोखरा–पाल्पा हुँदै बुटवल निस्किएर पश्चिम जान सकिने छ । अथवा आँबुखैरेनीबाट फेरि मुग्लिन निस्किएर चितवनको नारायणगढ निस्किन सकिन्छ ।

मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानेर पहिरो पन्छाएर बाटो खुलाइसकिएको छ । यद्यपि तुइन खोलानेर पहिरोको जोखिम भने कायमै छ ।

तेस्रो विकल्प

काठमाडौंबाट बाहिरिएर पश्चिमतर्फ जाने वा पश्चिमतर्फबाट काठमाडौं भित्रिनेहरुका लागि नुवाकोट हुँदै यात्रा गर्न सकिने मध्यपहाडी लोकमार्ग तेस्रो विकल्प हुनसक्छ ।

यो बाटोबाट काठमाडौं, नुवाकोट, सामरी भञ्ज्याङ, गोरखा बजार हुँदै तनहुँको आँबुखैरेनी निस्किन सकिन्छ ।

तर यो बाटो अलि अप्ठ्यारो भएकाले यात्रा गर्दा फोर ह्वील र ग्राउण्ड क्लियरेन्स राम्रो भएको गाडी चाहिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics