+
Search

ताजा अपडेट +

पपुलर +

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानकर्ता मनोज केसीलाई सीआईबीको जिम्मेवारी

पालिका लाइभ
२०८२ आश्विन ५, आईतवार १९:४९ गते

काठमाडौं– सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको जिम्मेवारी दिएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी केसीलाई सीआईबी प्रमुखमा सरुवा गर्ने निर्णय गरेको हो।

केसी तत्कालीन सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसको दबाबका कारण जिम्मेवारीबाट हटाइएका थिए।

उनी नेतृत्वको टोलीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणसमेत पक्राउ गरेको थियो। त्यसपछि एमाले–कांग्रेस गठबन्धनको सरकारले उनलाई महत्त्वपूर्ण पोष्टिङ दिइएको थिएन र हाल उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए।

केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो।

दुलाल र भण्डारीको बयानबाट गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू समेत प्रकरणमा संलग्न रहेको खुलेको थियो।

यसअघि सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ प्रहरी महानिरीक्षक नियुक्त भएपछि सीआईबी कार्यवाहकको भरमा सञ्चालन भइरहेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics