+
Search

ताजा अपडेट +

पपुलर +

जेनजी आन्दोलन: सहादत, संघर्ष र भविष्य निर्माण

An aerial view of smoke rising from the Federal Parliament of Nepal premises after it was set on fire by protestors during massive anti-government protests, in Kathmandu. (PTI)
सुजन ढकाल
२०८२ आश्विन ३, शुक्रबार २०:०४ गते

सेप्टेम्बर ८, २०२५ हाम्रो पुस्ताको लागि इतिहासकै कालो दिन बनेर आएको थियो। त्यो दिन हामी जेनजी युवाहरूले लामो समयदेखि मनमा पाल्दै आएका असन्तुष्टि र आशाहरूलाई सडकमा लिएर निस्किएका थियौँ। हाम्रो उद्देश्य सरल तर गहिरो थियो- भ्रष्टाचारको अन्त्य, लोकतन्त्रको रक्षा र स्वतन्त्र अभिव्यक्ति सुनिश्चित गर्ने।

दशकौँदेखि देशमा जरा गाडेको अन्याय, सत्ता दुरुपयोग र भ्रष्टाचारलाई समाप्त पार्ने अब हाम्रो पुस्ताकै जिम्मेवारी हो भन्ने अनुभूति हामी सबैमा प्रबल भइसकेको थियो। हामीले हातमा प्लेकार्ड बोकेका थियौँ, आँखामा आँसु तर मुटुमा दृढ विश्वास थियो, र त्यो दिन हामीले आवाज उठाउन नसक्ने कुनै विकल्प बाँकी रहेको थिएन।

तर त्यो दिन हाम्रो कल्पनाभन्दा धेरै भयावह बन्न पुग्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आवाजलाई सुन्नु त परै जाओस्, उल्टै दमन गर्ने बाटो रोजे। नेपाल प्रहरीले आन्दोलनकारीमाथि गोली चलायो। पहिलो दिनमै १९ जना सहिद भए, सयौँ घाइते भए र अस्पतालभित्रै उपचाररत साथीहरूलाई समेत कुटपिट गरियो। यसले प्रस्ट पारिदियो कि ओलीको प्राथमिकता सत्तामा टिकिरहनु मात्र थिएन, उनी जनताको विरोधलाई रगतको समुद्रमा डुबाएर थाम्न चाहन्थे।

तर हामी युवाहरू डराएनौँ, चुप लागेनौँ। पहिलो दिनको हिंसाले हाम्रो आँखा रसाए, तर हाम्रो सङ्कल्पलाई अझ दृढ बनाइदियो। हाम्रो नारा सडकभर गुन्जियो। ‘हामी चुप बस्दैनौँ, लोकतन्त्र बचाउँछौँ।’ हामीलाई थाहा थियो कि गोली, डर र दमनले हाम्रो आवाजलाई दबाउन सक्दैन। त्यो पहिलो दिनमा हामीले विरोध मात्र गरेनौँ, बरु भ्रष्ट नेताहरू र अधिकार दुरुपयोग गर्नेहरूमाथि सशक्त प्रतिरोध पनि देखायौँ।

भोलिपल्ट,

सेप्टेम्बर ९ को बिहानैदेखि मुलुकको वातावरण असामान्य बन्दै गयो। क्रोध र न्यायको मागले सडकहरू तातिए। काठमाडौं मात्र होइन, देशका हरेक शहर गाउँसम्म आन्दोलन फैलियो। सिंहदरबार जले, संसद् भवनमा आगो लाग्यो, सरकारी कार्यालयहरू र भ्रष्ट नेताहरूका महलहरू आक्रोशको निशाना बने। दशकौँको शोषण र अन्यायले सञ्चित गरेको आक्रोश अब भत्किन लागेको बाँध जस्तै भइसकेको थियो।

तर स्थिति नियन्त्रणबाहिर पुग्ने क्रममा नेपाली सेनाले निर्णायक भूमिका खेल्यो। सेनाले आन्दोलनकारीमाथि थप दमन हुन दिएन, बरु उनीहरूको सुरक्षा सुनिश्चित गर्‍यो। यसले आन्दोलनलाई हिंसात्मक रक्तपाततर्फ धकेलिनबाट रोकेको थियो। त्यसैबेला राष्ट्रपतिको ऐतिहासिक कदम आयो। उहाँले संविधान र लोकतन्त्रको रक्षा गर्ने साहसिक निर्णय लिनुभयो। सेनाको समन्वय र राष्ट्रपतिको दृढताले मुलुकलाई ठुलो संकटबाट जोगायो। यो निर्णायक घडीमा शक्ति, विवेक र संवेदनशीलता तीनैलाई मिलाएर देशलाई हिंसाको दलदलमा डुब्नबाट रोकिएको थियो।

हामी युवापुस्ताले पहिलो दिनको बलिदान र दोस्रो दिनको असामान्य अवस्थाबाट एउटा ठुलो पाठ सिक्यौँ—धैर्य, साहस र एकता नै हाम्रो वास्तविक शक्ति हो। हाम्रो दबाब, निरन्तर सहभागिता र अदम्य संकल्पकै कारण नयाँ अन्तरिम सरकार गठनको बाटो खुल्यो। प्रतिनिधिसभा विघटन भयो र मुलुक ताजा जनादेशको तयारीमा अघि बढ्यो। नयाँ सरकारले संविधान संशोधनको प्रक्रिया सुरु गर्ने घोषणा गर्‍यो, जसले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ल्याउने बाटो खोल्नेछ। यसले जनतामुखी शासनको सम्भावना अझ बलियो बनाएको छ।

हामी जेनजी युवाहरू अब सरकारसँग मात्र नभई सम्पूर्ण राज्य संयन्त्रसँगै रहनेछौँ। हामी नीतिहरूको निगरानी गर्नेछौँ, निर्णय प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्नेछौँ र भ्रष्टाचार नियन्त्रणमा अग्रपङ्तिमा रहनेछौँ। हाम्रो सन्देश स्पष्ट छ- भ्रष्ट नेताहरूलाई कानुनी कारबाही गर्नुपर्छ, उनीहरूको अवैध सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ र सुशासनको सुनिश्चितता गर्नुपर्छ।

यो नारा होइन, हाम्रो पुस्ताको संकल्प हो।

सेप्टेम्बर ८–९ का सहिदहरू हाम्रो प्रेरणाका स्रोत हुन्। उनीहरूले देखाएका बलिदानले हामीलाई केवल सम्झनामा मात्र बाँधेर राख्ने होइन, शक्ति र प्रेरणाको स्रोत बन्नुपर्नेछ। हामी उनीहरूको सपना पूरा गर्ने बाटोमा अघि बढ्नुपर्छ। हाम्रो नारा अझै गुन्जिरहुन्- ‘हामी बनाउँछौँ हाम्रो देश, हामी चुप बस्दैनौँ, हामी धैर्य गर्छौँ।’

हाम्रो पुस्ताले देखाइसकेको छ कि हामी विरोध गर्ने पुस्ता होइन, नेतृत्व गर्ने पुस्ता पनि हौँ। पहिलो दिनको गोली र हिंसा, दोस्रो दिनको असामान्य अवस्था, सेनाको समन्वय, राष्ट्रपतिको दृढता र नयाँ सरकार गठनले एउटा कुरा स्पष्ट बनाइदियो ।

जनताको शक्ति नै सबैभन्दा बलियो हुन्छ।

अब अन्तरिम सरकारले पारदर्शिता, सुशासन र जनता केन्द्रित नीति लागू गर्नुपर्छ। रोजगार, शिक्षा, स्वास्थ्य र सामाजिक समानता सुनिश्चित गर्नु यसको पहिलो प्राथमिकता हुनुपर्छ। हामी युवापुस्ताले यो अवसरलाई सदुपयोग गर्दै भ्रष्टाचार उन्मूलन, सार्वजनिक निकाय सुधार र देश निर्माणमा योगदान दिनुपर्छ।

हाम्रो जिम्मेवारी आन्दोलन गरेर परिवर्तन माग्ने होइन, परिवर्तन कार्यान्वयनमा सहभागी भएर देशलाई नयाँ दिशातर्फ अघि बढाउने हो।

त्यसैले सेप्टेम्बर ८–९ केवल आन्दोलनको कथा मात्र होइन। यो सहिदहरूको बलिदानको सम्मान हो, लोकतन्त्रको रक्षा हो र भविष्य निर्माणको अभियान हो। हामी जेनजी युवाहरूले प्रमाणित गरिसकेका छौँ ।

एकता, साहस र धैर्यले मात्र वास्तविक परिवर्तन सम्भव हुन्छ। हाम्रो प्रतिज्ञा स्पष्ट छ । सहादत र बलिदानको मूल्यलाई सम्मान गर्ने, भ्रष्टाचारको जरा उखेल्ने र देश पुनर्निर्माणमा अग्रणी भूमिका खेल्ने। यो आन्दोलनले एक अस्वीकार्य सत्यलाई प्रस्ट पारिदिएको छ । जनताको आवाजलाई कहिल्यै दबाउन सकिँदैन। सहादत, संघर्ष र नेतृत्वको एकताले मात्र हाम्रो मुलुकलाई उज्ज्वल भविष्यतर्फ डोरेर लैजान सक्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सुजन ढकाल
Verified by ExactMetrics