काठमाडाैं– कालिकामाई गाउँपालिकामा सुशासनको अवस्था धरापमा परेको छ।
प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीको अनुपस्थित र गैरजिम्मेवार रवैयाले पालिकामा आर्थिक पारदर्शिता र जबाफदेहिता गम्भीर संकटमा परेको हो। तीन महिनादेखि कार्यालयमा नदेखिएका गिरीमाथि आय–व्यय विवरण लुकाउने, सार्वजनिक स्रोतको दुरुपयोग गर्ने र सुशासन निर्देशिका उल्लंघन गर्ने आरोप लागेको छ।
गाउँपालिकाको आधिकारिक वेबसाइटमा पछिल्ला तीन आर्थिक वर्षयता योजनाहरू, बजेट विनियोजन, खर्च विवरण र खरिद प्रक्रिया अद्यावधिक गरिएको छैन। सूचना अधिकार ऐनले तोकेको नागरिकलाई जानकारी दिने दायित्व पालिकाले पूरा नगरेको यसैबाट स्पष्ट हुन्छ। पारदर्शिता, जबाफदेहिता र स्रोतको प्रभावकारी उपयोग सुनिश्चित गर्न भन्दै २०७९ सालमा ल्याइएको १९ बुँदे सुशासन कार्ययोजना व्यवहारमा भने पूर्णरूपमा असफल भएको देखिन्छ।
यसबाहेक, प्रशासकीय अधिकृत गिरी वर्षभरि पाँच–छ पटक मात्र कार्यालय पुग्ने गरेको स्रोतको दाबी छ। तर, उनले प्रयोग गर्दै आएको स्कार्पियो गाडीको मासिक करिब एक लाख रुपैयाँ भाडा भने पालिकाको बजेटबाट नियमित तिराइएको छ। कार्यालय नपुग्ने तर सार्वजनिक स्रोतको निरन्तर दुरुपयोग गर्ने प्रवृत्तिलाई स्थानीयवासीले प्रत्यक्ष भ्रष्टाचारको प्रमाणका रूपमा लिएका छन्।
स्थानीयहरूले प्रशासकीय अधिकृत गिरीको गैरजिम्मेवार गतिविधिले पालिकामा सुशासनको आधार नै कमजोर बनाएको बताएका छन्। उनीहरूको भनाइमा जनताले कर तिरेर प्रश्न गर्दा जवाफ नपाउने अवस्था आएको छ, जसका कारण प्रशासनप्रति आस्था हराउँदै गएको छ।
अहिले नागरिक, सामाजिक संघ–संस्था र विभिन्न समुदायहरू मिलेर भ्रष्टाचारविरुद्ध खबरदारी अभियान सुरु गर्ने तयारीमा छन्। ‘हामी कर तिर्छौँ, जवाफ माग्छौँ, तर जवाफ पाइन्न,’ भन्ने आवाज चुलिँदै गएको छ। यसबीच, प्रशासकीय अधिकृत अमित गिरी एकीकृत समाजवादी निकट कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन पर्साका अध्यक्षसमेत रहेका कारण यो विषय थप विवादास्पद र राजनीतिक रूपमा संवेदनशील बनेको छ।
प्रमुख प्रशासकीय अधिकृत गिरीसँग सम्पर्क गर्न प्रयास गर्दा उनी प्रयोग गर्ने मोबाइल नम्बर *****११११८ मा पटक–पटक सम्पर्क गर्दा समेत सम्पर्क हुन सकेन। कार्यालयमा उपस्थित नभएको र फोनमार्फत समेत उपलब्ध नभएको अवस्थाले पालिकाको प्रशासनिक उत्तरदायित्वमाथि अझ गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया