काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली नागरिकका लागि कामदार (वर्किङ) भिसा बन्द गरेको छ। यसअघि सोमबारदेखि नै नेपालीलाई भिजिट भिसा नदिने निर्णय गरेको थियो।
नेपालमा हालैको ‘जेन–जी आन्दोलन’ का क्रममा तोडफोड, आगजनी तथा लुटपाटका घटना बढ्नुका साथै कैदीहरू जेलबाट भागेको घटनापछि युएईले यो कदम चालेको जनाइएको छ। पछिल्लो समय नेपाली नागरिकहरू युएईमा सबैभन्दा बढी भिजिट भिसामा पुग्ने गरेका थिए।
दुबईस्थित विभिन्न कम्पनीहरूले नयाँ भिसा आवेदन दर्ता गर्न नसकिएको र पहिले नै टाइप भएका भिसासमेत रद्द हुन थालेको बताएका छन्। एक सुरक्षा कम्पनीले आफ्ना सेक्युरिटी गार्डका लागि पेश गरिएको भिसा अस्वीकार भएको जानकारी दिएको छ। त्यस्तै, एक वेयरहाउस कम्पनीका पीआरओले २५ जना नेपाली श्रमिकका लागि दर्ता गरिएका सबै भिसा अस्वीकृत भएको बताए।
अर्को क्लिनिङ कम्पनीले पनि १२ जना कामदारको भिसा अस्वीकार भएको जनाएको छ। हाल युएईको इमिग्रेसनले नेपालबाट हालिने नयाँ भिसा पूर्ण रूपमा रोकिदिएको छ।
यसैबीच, कोरियाको ई–७ भिसा पनि नेपालीका लागि बन्द भएको छ। वैदेशिक रोजगार विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि, २०८० कार्यान्वयन नगर्ने निर्णय भएको जनाएको हो।
विभागका अनुसार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट उक्त कार्यविधि तत्काल लागू नगर्न निर्देशन आएको हो। हाल नेपाली कामदार कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत मात्र जाने व्यवस्था छ।
प्रतिक्रिया