रौतहट– फतुवा बिजयपुर नगरपालिकामा हालै भएको आगजनी र लुटपाट निलम्बित लेखा अधिकृत नवीन कुमार यादवलाई जोगाउने योजनाअन्तर्गत योजनाबद्ध रूपमा गरिएको खुलेको छ। घटनामा दुई शिक्षक र दुई वडाध्यक्षको प्रत्यक्ष संलग्नता रहेको प्रमाण सार्वजनिक भएको छ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) विनोद कुमार खड्काको नेतृत्वमा गरिएको स्थलगत अनुगमनका क्रममा स्थानीयले प्रत्यक्ष देखेका विवरण दिँदा संलग्न व्यक्तिहरूको नामसमेत खुलासा भएको हो। भ्रष्टाचार मुद्दामा अख्तियारमा मुद्दा खेपिरहेका निलम्बित लेखा अधिकृत यादवलाई बचाउन वडा नम्बर ८ का वडाध्यक्ष नितेश चौधरी, वडा नम्बर ९ का वडाध्यक्ष राकेश यादव, सरस्वती प्राविका प्रधानाध्यापक सुबोध यादव र माध्यमिक विद्यालयका शिक्षक रवीन्द्र यादवले जनतालाई उचालेर नगरपालिकामा तोडफोड, आगजनी र लुटपाट गराएको समाचार स्रोतको दाबी छ ।
२४ भदौमा सुबोध र रवीन्द्र यादवको सल्लाहमा निलम्बित लेखा अधिकृत नवीन यादवले दुई वडाध्यक्षसहित आफ्ना समर्थकलाई भेला गरी मासु–रक्सी खुवाउँदै करिब १५ हजार रुपैयाँ खर्चेको तथ्य बाहिर आएको छ। सोही दिन बेलुकी ‘जेन जी आन्दोलन’को नाममा जुलुस निकालेर नगरपालिका कार्यालय, स्वास्थ्य तथा शिक्षा शाखा र मेयर बस्ने कोठासम्ममा तोडफोड र आगजनी गरिएको थियो।
नगरपालिकाका घरधनी शम्भु जैसवालका अनुसार, आगो निभाउन खोज्दा वडाध्यक्षहरूले धम्की दिएका थिए। त्यस्तै मेयर बस्ने घरका सामानहरू पनि तोडफोड गरी बाहिर निकालेर आगजनी गरिएको घरधनी रामेश्वर साहले जानकारी दिएका छन्।
अख्तियारमा दर्ता उजुरीअनुसार, तत्कालीन लेखा अधिकृत नवीन यादवले एउटै कामको तीनपटक भुक्तानी दिई करिब अढाई करोड बराबरको अनियमितता गरेका थिए। हालका प्रमुख प्रशासकीय अधिकृत भरत यादवले सम्बन्धित फाइल अख्तियारमा पठाउने प्रक्रिया अघि बढाएपछि प्रमाण नष्ट गर्न योजनाबद्ध आगजनी गरिएको कार्यपालिका सदस्यहरूको आरोप छ।
यस घटनामा कार्यालयका महत्त्वपूर्ण फाइल, कागजात, विद्युत् उपकरण र फर्निचर जलेका वा लुटिएका छन्। प्रमुख प्रशासकीय अधिकृत भरत यादवका अनुसार प्रारम्भिक अनुमानमा करिब ३ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
अनुगमन टोलीमा सिडिओ विनोद कुमार खड्का, प्रहरी प्रमुख एसपी नेत्रमणि गिरी, सशस्त्र प्रहरी एसपी रामहरि अधिकारी, अनुसन्धान एसपी कुमार बुढाथोकी, सेनाका कर्णेल विश्वास विष्ट, कार्यवाहक मेयर अम्बेया खातुन, दलका नेतागण, नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीहरू सहभागी थिए। टोलीले यो घटना सामान्य आन्दोलन नभई योजनाबद्ध आपराधिक गतिविधि भएको निष्कर्ष निकालेको छ।
सिडिओ खड्काले सार्वजनिक सम्पत्ति जलाउने वा तोडफोड गर्ने जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाएका छन्।
फतुवा बिजयपुरमा २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको वर्चस्व थियो। त्यतिबेला मेयर, उपमेयरसहित ११ मध्ये ७ वटा वडा कांग्रेसले जितेको थियो। तर मेयर गोपाल प्रसाद यादव अख्तियारमा भ्रष्टाचार मुद्दामा दोषी ठहर भई निलम्बनमा परेपछि हाल उपमेयर अम्बेया खातुन कार्यवाहक मेयरको जिम्मेवारी सम्हालिरहेकी छन्।
प्रतिक्रिया