काठमाडौं- पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जेनजी पुस्ताले आफूलाई अत्यधिक रुचाएकाले सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छिन् ।
भारतीय मिडिया न्युज-१८ सँगको कुराकानीमा उनले जेनजी आन्दोलनपछिको परिस्थितिमा चुनावी सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएकी हुन् ।
‘उनीहरूले मलाई प्रस्ताव गरे । यो मप्रतिको विश्वास हो । म छोटो समय सरकार चलाएर चुनाव गराउनेछु । मैले जेनजीको प्रस्तावलाई स्वीकार गरेँ,’ उनले भनिन् ।
कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी युवाप्रति श्रद्धाञ्जली दिँदै उनीहरुका अभिभावकको मागलाई सम्बोधन गर्ने पनि बताइन् । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबारलगायत सबै सरकारी भवन जलेकोमा उनले दु:ख व्यक्त गरेकी छिन् ।
सरकारको नेतृत्व गरेपछि आफ्नो पहिलो चरणको काम भ्रष्टाचार नियन्त्रण हुने बताइन् । नेपाली राजनीतिमा सधैँ समस्या भइरहेको भन्दै कार्कीले अब जेनजी पुस्तासँग मिलेर दीर्घकालीन समाधान खोज्ने बताइन् ।
‘नयाँ वातावरण बनाउँछौँ । यो समस्या रोक्छौँ,’ उनले भनिन् ।
कार्कीले नेपाल-भारतबिचको सम्बन्धबारे पनि बताएकी छिन् । ‘भारत सरकारसँगको सम्बन्ध राम्रो छ । भारतमा हाम्रो धेरै नाता छ । हाम्रो धेरै सद्भाव छ । उनीहरूले हामीलाई धेरै मान्छन् । हामी र भारतबिच राम्रो सम्बन्ध छ । हामी जान्दछौँ,’ उनले भनिन् ।
उनले भाँडा नजिक हुँदा बजेर कहिलेकाहीँ आवाज आउनु स्वाभाविक भएको भन्दै नेपाल र भारतबिचको सम्बन्ध सधैँ मजबुत रहेको बताइन् ।
यसै विषयमा कन्द्रित भई भारतीय टेलिभिजन न्यूज १८ लाई पूर्वप्रधानन्यायाधीश कार्कीले दिएको अन्तर्वार्ता ।
नेपालको पछिल्लो अवस्था र तपाईंलाई गरिएको नयाँ प्रस्ताव नेतृत्वबारे तपाईंको विचार के हो ?
उनीहरूले मलाई चुनावी प्रयोजनको लागि छोटो समयमा सरकारको नेतृत्व गर्न भनेका छन् । मैले यसलाई स्वीकार गरेको छु ।
तपाईंको प्राथमिकता के के हुनेछ ?
मेरो तत्कालीन नेतृत्व आन्दोलनका क्रममा मारिएका जेनजीको परिवारलाई राहत दिनु हुनेछ । अहिले उहाँहरूको एउटा माग अर्थात् प्रधानमन्त्रीको राजीनाको माग पूरा भइसकेको छ । सरकार बनेपछि अरु धेरै कुरा पूरा गर्न सकिन्छ ।
अरू केही माग गरेका छन् ?
उनीहरूसँग मैले अन्तिम कुरा गरेको छैन । हिजो प्रस्ताव गरेका थिए, मैले स्वीकारेँ । आज उहाँहरूले भोट गर्नुभयो । मेरो लागि सबैभन्दा धेरै मत प्राप्त भएपछि उहाँहरूले मलाई स्वीकार गर्नुभयो । मैले १९६० पछि तीनवटा परिवर्तन देखेको छु । सबैमा समस्या थियो, अहिले पनि सिर्जना भएको छ । सिंहदरबार, सर्वोच्च अदालतदेखि देशभरका विभिन्न जिल्लाका विभिन्न कार्यालयका फाइल जलेका छन् । तर, हामी अब मिहिनेत गर्छौं ।
तपाईंको त भारतसँग सम्बन्ध पनि छ, यहीँ बसेर पढ्नुभएको थियो, यसबारे केही सम्झना ?
हो, मैले बनारस हिन्दु विश्वविद्यालयमा पढेको हुँ । हामी गर्मीको सिजनमा गंगाको किनारमा रहेको होस्टेलमा बसेर बढ्थ्यौं, म त्यो कुरालाई सझन्छु ।
भारतसँग तपाईंको के अपेक्षा छ ?
भारसँग हाम्रो सम्बन्ध अहिलेदेखिको होइन, धेरै पुरानो हो । सरकारसँग कस्तो सम्बन्ध छ, यो अलग कुरा हो । तर जनता जनताबिच सदीयौं पुरानो सम्बन्ध छ । एक अर्कालाई चोट पुग्दा हाम्रो आँशु आउँछ ।
अपेक्षाको कुरा गर्दा भारतले नेपाललाई सधैँ सहयोग गरेको छ । तर किचन एउटै भएपछि भाँडकुँडाको आवाज त आउँछ नै ।
नेपालमा भारतीयहरू छन् । उनीहरूले असुरक्षित महसुस गरिरहेका छन्, उहाँहरूको सुरक्षाको लागि के गर्नुहुन्छ ?
म अहिले काठमाडौंमा छु, यहाँ आर्मीले व्यवस्था गरिरहेको छ । हिजो राति म ८/१० माइल टाढाबाट आएको थिएँ । मलाई डर लागेको थियो । तर आज यस्तो खराब अवस्था छैन, प्रहरीहरू आइसकेका छन् । केही न केही खराब अवस्था छ भइ नै हाल्छ । तर, जसलाई केही भयो, उहाँहरूलाई क्षतिपूर्ति दिनुपर्छ । योबारे सेना एकदमै संवेदनशील छ ।
तपाईंसँग अरु पनि नेता वा कोही व्यक्ति छन् जो अन्तरिम सरकार सम्हाल्न सहयोग गर्छन् ?
मलाई लाग्दैन कि त्यस्तो छ, किनकि म त न्यायाधीश हुँ नि ।
तर नागरिक समाजबाट त कोही होलान् नि ?
अँ नागरिक समाजबाट हुन सक्छन् । तर राजनीतिक नेतृत्वबाट हुँदैन ।
तपाईंको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग केही अपेक्षा छ ?
उहाँलाई म नमस्कार भन्न चाहन्छु, उहाँप्रति मेरो राम्रो इम्प्रेसन छ । अहिलेसम्म त मलाई सरकार प्रमुखमा प्रस्ताव मात्रै गरिएको हो, अहिलेसम्म बन्ने निश्चित भएको होइन । जब दुई देशको मामिला हुन्छ, यसमा त एउटा पोलिसी बनाएर त जाने हो । मेरो भारतमा धेरै साथीहरू छन्, उहाँसँग राम्रो सम्बन्छ छ । मेरो श्रीमान पनि उतै हुनुहुन्छ, उहाँहरू पनि राम्रो साथी हुनुहुन्छ, भेटघाट भइरहन्छ ।
तत्कालको काम के हुन्छ ?
पहिलो त शान्तिको आवश्यकता नै हो । म भन्दिनँ कि म ठुलो आर्थिक सुधार ल्याउँछु । मैले समयमा निर्वाचन गरेर अर्को नेतृत्वलाई सत्ता हस्तान्तरण गर्ने हो । अहिलेको अवस्थामा ध्वस्त भएको भवनलाई केही निर्माण गर्न सकिन्छ । तर, निष्पक्ष निर्वाचन होस् भन्ने हो । पैसा बाँडेर कोही नेतृत्वमा नआओस्, हाम्रो यही प्राथमिकता हो ।
नयाँ चुनावमा के नयाँ पुस्ता वा युवा आउँछन्, किनकि आन्दोलन त युवा पुस्ता आउनुपर्यो भनेर भएको हो नि । हामी कसैलाई चुनाव नलड् भनेर त भन्न सक्दैनौं । कोही पार्टीगत रुपमा आउलान्, कोही स्वतन्त्र रुपमा आउलान् । यो त उनीहरूको रोजाइ हो । यो आन्दोलनपछि हुन सक्छ । कोही नयाँ पार्टी गठन गरेर चुनावमा आऊन् वा कुनै पुरानो दल आएर त्यो गर्छन् भने पनि ठीकै छ ।
कति समय लाग्ला ? २ महिना, ३ महिना ?
चुनाव गर्न त समय लाग्ला । ६ महिना लाग्ला, १ वर्ष लाग्ला । तर छोटो समयमा चुनाव गरेर हस्तान्तरण गर्छौं । म कार्यकारी व्यक्ति होइन, म जज हुँ । मलाई राजनीतिमा रहेर केही गर्नु छैन ।
प्रतिक्रिया