काठमाडौं– तनहुँकी रेबिका थापा मगरले ‘मिस ग्राण्ड गण्डकी २०२५’ को उपाधि जितेकी छन्। देशभरका दुई दर्जनभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै उनले क्राउन, प्रमाणपत्र र मेडल प्राप्त गरेकी हुन्।
कार्यक्रममा विभिन्न विधामा अन्य प्रतिस्पर्धीहरूले पनि उपाधि जित्न सफल भए।
चाहाना प्रधान ‘मिस ग्राण्ड नेपाल’, गरिमा गुरुङ ‘मिस टुरिजम वर्ल्ड नेपाल २०२५’, स्नेहा केसी ‘मिस सुपर ग्लोबल नेपाल २०२५’ र सन्जना गुरुङ ‘मिस ग्राण्ड युनिभर्सल नेपाल २०२५’ को उपाधिबाट सम्मानित भए।
आर.के. इन्भेस्टमेन्ट ग्रुपका निर्देशक राम केसीका अनुसार, फरक–फरक विधामा विजेता भएका प्रतियोगीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको झन्डा फहराउने अवसर प्राप्त गर्नेछन्।
देशभरका युवाहरूको सहभागिता रहेको यस प्रतियोगितामा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथिको रूपमा सहभागी थिए।
कार्यक्रमको सभापतित्व राजु रहँदाले गरे भने निर्णायक मण्डलमा गीता गुरुङ, मिस पवि, सुस्मी कँडेल, प्रमीला सिलवाल, आस्था शाखा, नवराज कोइराला र ग्रान्ड जजका रूपमा रामहरि सिलवालको उपस्थिति रहेको थियो।
प्रतिक्रिया