+
Search

ताजा अपडेट +

पपुलर +

एमालेमा टसल सुरू

‘विद्याजी राजनीतिमा आउनुहुन्छ भन्ने पार्टीले ठानेको छैन, उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन’

फाइल तस्बिर
पालिका लाइभ
२०८२ श्रावण १, बिहीबार

काठमाडौं– प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिप्रति आपत्ति प्रकट गरेका छन् ।

प्रधानमन्त्रीले राष्ट्रपतिको गरिमा छोडेर दलविशेषको कार्यकर्ता हुन आउनु गम्भीर रहेको तर्क गरेका छन् । साथै, ओलीले एमाले पार्टी र अध्यक्षसँग भण्डारीले परामर्श नगरेको पनि दाबी गरेका छन् ।

पत्रकार विजयकुमारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले परामर्शबिनै भण्डारीले सक्रिय राजनीतिमा आउने निर्णय लिएको बताएका हुन् ।

उनले अन्तर्वार्तामा भनेका छन्, ‘पार्टीको अध्यक्ष म छु, एमाले पार्टी छ, त्यहाँ कुनै परामर्श भएको छैन, कहाँ–कहाँ परामर्श गर्नुभयो थाहा भएन । तर मसँग परामर्श भएको छैन ।’

आफूसँग छलफल नगरी सक्रिय राजनीतिमा फर्किने भण्डारीको निर्णयले अहिलेको प्रणालीमाथि नै गम्भीर प्रश्न उठाएको ओलीको भनाइ छ ।

ओलीले भनेका छन्, ‘मलाई सक्रिय राजनीतिमा आउन मन छ, आउँ कि नआउँ ? देशलाई फाइदा हुन्छ कि हुँदैन ? अथवा प्रणालीगत हिसाबले के हुन्छ ? राष्ट्रपतिको गरिमा छोडेर दलविशेषको कार्यकर्ता हुन आउँदा के हुन्छ भनेर यी कुनै पनि विषयमा विचार विमर्श भएन ।’

ओलीले पूर्वराष्ट्रपति रामवरण यादवले भने थिति बसाउन प्रयास गरेको उल्लेख गरेका छन् । यादवले थिति बसाउन गरेको प्रयासलाई भण्डारीले उल्लंघन गरेको पनि उनको टिप्पणी छ ।

भण्डारीको सक्रिय राजनीतिमा फर्किने विषय राजनीतिक प्रणाली तथा गणतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको पनि ओलीले उल्लेख गरेका छन् ।

ओलीले भण्डारीलाई लक्षित गर्दै भनेका छन्, ‘राष्ट्रपति भनेको सबै अंगको प्रमुख हो, देशप्रति र सविधानप्रति उत्तरदायी हुन्छ । विद्याजी राष्ट्रपति छँदासम्म निष्पक्ष ढंगले चल्नुभएको थियो । राष्ट्रपति सेनाको परमाधिपति हो ,देशको साझा र संरक्षक हो । त्यसैले राष्ट्रपति राजनीतिमा आउनु नैतिकताको प्रश्न हो । बसाउनुपर्ने थिति हो । रामवरण यादवले थिति बसाउन खोजेको देखिन्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ