+
Search

ताजा अपडेट +

पपुलर +

बजेट

अजिरकोटको बजेट करिब ४७ करोड, केमा कति गर्छन् खर्च?

आन्तरिक आम्दानीमा पनि गाउँपालिकाले सुधारको संकेत देखाएको छ। गत वर्ष ७० लाख रुपैयाँ रहेको स्थानीय आम्दानी यस वर्ष १ करोड २२ लाख पुगेको छ। बाँकी बजेट संघीय र प्रदेश सरकारको अनुदान तथा राजस्व बाँडफाँडबाट व्यवस्थापन गरिनेछ।

पालिका लाइभ
२०८२ असार १२, बिहीबार

गोरखा– अजिरकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि करिब ४६ करोड ८५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। असार १० गते सम्पन्न १७औँ गाउँसभामा उपाध्यक्ष अनिता भुजेलले बजेट प्रस्तुत गर्दै समावेशी, उत्पादनमुखी र उत्तरदायी स्थानीय शासनमा आधारित नीति र कार्यक्रम सार्वजनिक गरेकी हुन्।

यस वर्षको बजेटले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगार र सामाजिक न्यायलाई प्राथमिकतामा राखेको छ। करिब ६१ प्रतिशत बजेट पुँजीगत क्षेत्रमा खर्च गरिनेछ भने कार्यालय सञ्चालनलगायतका चालु क्रियाकलापमा ७ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ।

बजेटमा कृषि क्षेत्रलाई मुख्य आधार मानिएको छ। उत्पादनशील जमिन, सिँचाइको पहुँच, बीउ मल, स्थानीय जातका बालीको प्रवर्द्धन र व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न १ करोड ३१ लाख रुपैयाँ छुट्टाइएको छ। रैथाने बाली, मशरूम खेती, बाख्रापालन, गुन्द्रुक, कोदो रक्सी र खुबानी वाइन उत्पादनजस्ता स्थानीय उद्योगलाई व्यावसायिक ढंगले अघि बढाउने योजना बजेटमा समावेश छ।

स्वास्थ्य क्षेत्रमा भच्चेक अस्पतालको उपकरण खरिदका लागि संघीय अनुदानबाट १ करोड १२ लाख रुपैयाँ विनियोजन गरिएको छ। शवगृह व्यवस्थापन, महिला तथा बालबालिकामैत्री सेवा, अपाङ्गता भएका व्यक्तिका लागि सहयोग सामाग्री, ज्येष्ठ नागरिक लक्षित कार्यक्रमजस्ता सामाजिक सुरक्षा केन्द्रित योजना पनि बजेटमा परेका छन्।

शिक्षामा माध्यमिक विद्यालयको छात्रावास व्यवस्थापनका लागि ४० लाख बजेट विनियोजन गरिएको छ। दलित, महिला, जनजाति विद्यार्थीका लागि छात्रवृत्ति, शिक्षासम्बन्धी तालिम, शिक्षण सहायक व्यवस्था, र स्थानीय पाठ्यक्रमलाई सशक्त बनाउने योजना पनि बजेटले अँगालेको छ।

गाउँपालिकाले गत वर्षदेखि सञ्चालन हुँदै आएका केही निरन्तर कार्यक्रमहरूलाई यस वर्ष पनि सशक्त बनाउँदै अघि बढाउने घोषणा गरेको छ। भञ्याङ-खरिवोट, भच्चेक-धादिङगरा, फाल्पु-मल्ले सडक स्तरोन्नति योजनाहरू, खानेपानी योजना, सिँचाइ विकास, आन्तरिक पर्यटन प्रवर्द्धन, घरेलु उद्योग सञ्चालन, महिला सशक्तीकरण, विपन्न लक्षित तालिम तथा रोजगारी कार्यक्रमहरू निरन्तरताको सूचीमा परेका छन्।

यस्तै, यसपटक केही नयाँ कार्यक्रम पनि घोषणा गरिएको छ। गाउँपालिकाले पहिलोपटक ‘राजश्व सुधार तथा प्रशासनिक क्षमता अभिवृद्धि’ योजना सार्वजनिक गरेको छ। गाउँस्तरीय आन्तरिक लेखा प्रणाली मजबुत बनाउने, सार्वजनिक सेवा प्रवाह पारदर्शी बनाउने र वडास्तरीय योजना अनुगमन प्रणाली सुरु गर्ने तयारी बजेट भाषणमा उल्लेख छ।

आन्तरिक आम्दानीमा पनि गाउँपालिकाले सुधारको संकेत देखाएको छ। गत वर्ष ७० लाख रुपैयाँ रहेको स्थानीय आम्दानी यस वर्ष १ करोड २२ लाख पुगेको छ। बाँकी बजेट संघीय र प्रदेश सरकारको अनुदान तथा राजस्व बाँडफाँडबाट व्यवस्थापन गरिनेछ।

बजेट प्रस्तुत गर्दै उपाध्यक्ष भुजेलले उत्पादन, पूर्वाधार र समावेशी सेवामा केन्द्रित यो बजेटले ‘सबल स्थानीय शासन र समृद्ध अजिरकोट’को आधार तयार गर्ने बताइन्। कार्यक्रमहरू कागजमा मात्रै सीमित नहोस् भन्ने उद्देश्यले निगरानी र सामुदायिक सहभागितामा आधारित बजेट कार्यान्वयन हुने जानकारी दिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ