गोरखा– सहिद लखन गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न १७औँ गाउँसभा मार्फत गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरले प्रस्तुत कार्यक्रमले समावेशी, आत्मनिर्भर र समृद्ध समाज निर्माणमा केन्द्रित छ।
गाउँपालिकाले कृषिप्रधान समाजको आवश्यकतालाई सम्बोधन गर्दै सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीका विषयमा दिगो योजनासहितको नीति तथा कार्यक्रम ल्याएको हो ।
नीति तथा कार्यक्रमले स्थानीय आवश्यकता र सम्भावनालाई केन्द्रमा राख्दै योजनाहरू अघि सारेको छ। विशेष गरी कृषि, पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, युवा सशक्तीकरण, समावेशी समाज निर्माण, सूचना प्रविधि र आन्तरिक राजस्व वृद्धि जस्ता क्षेत्रका कार्यक्रमहरूले गाउँपालिकाको नीति केन्द्रित छ ।
आधुनिक बीउ बिजन, मलखाद, कृषि औजार तथा उपकरणको अनुदानमार्फत कृषकलाई सहजीकरण गर्ने, बाँझो जमिनमा खेती प्रोत्साहन गरिने र भूमि बैंक सञ्चालन गरिने प्रस्तावले समृद्ध कृषिको सपना बोकेको छ। साथै, एक वडा एक सरकारी नर्सरी स्थापनाको योजना, मौरी पालन, माटो परीक्षण, बाली बीमा, कृषि एम्बुलेन्स र सहकारीमार्फत बजारीकरणको संयोजनले ग्रामीण अर्थतन्त्रलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ। रैथाने बालीको संरक्षण र व्यावसायिक उत्पादनमा समेत विशेष जोड दिइएको छ।
पशुपालनतर्फ पशु बीमा, खोप, कृत्रिम गर्भाधान, सानो तथा माछापालन कार्यक्रम, पशु स्वास्थ्य शिविर, पशुपालकलाई अनुदान तथा तालिमजस्ता कार्यक्रममार्फत स्वदेशी उन्नत जातका पशुपालनमा प्रोत्साहन गरिनेछ। ‘एक वडा एक पशुपालन पकेट क्षेत्र’ बनाउने अवधारणाले भौगोलिक विशिष्टताअनुसारको योजना बनाउने संकेत दिएको छ। साथै, दुग्ध संकलन केन्द्र स्थापना, घाँस बाली कार्यक्रम, कुकुर बन्ध्याकरण जस्ता जनचेतना जस्ता कार्यक्रमले जनस्वास्थ्य र पशु स्वास्थ्यको समायोजनमा योगदान पुर्याउनेछ।
पर्यटनको दृष्टिले पनि गाउँपालिकाले साहसी योजना प्रस्तुत गरेको छ। लखन थापा मगरजस्ता शहीदहरूको स्मृतिमा संग्रहालय, स्मारक, धार्मिक स्थलहरूको पहिचान, सडक पूर्वाधारको सुधार, मनकामना–गोरखा दरबारसम्मको पदमार्ग विकास, पर्यटकीय संकेत बोर्डहरू, ऐतिहासिक स्थलहरूमा पर्यटन गाइड व्यवस्थापन जस्ता कार्यक्रम समावेश छन्। यिनै कार्यक्रमहरू गाउँको आर्थिक रूपान्तरणमा टेवा पुर्याउने विश्वास गरिएको छ।

सामाजिक समावेशीकरणतर्फ महिला, दलित, जनजाति, पिछडिएको समुदाय, एकल महिला, अपांगता भएका नागरिक र सीमान्तकृत वर्गलाई सशक्त बनाउन सीपमूलक तालिम, साक्षरता, अनुदान, आत्मनिर्भर उद्यम विकास, सामाजिक सुरक्षा योजना, पोषण कार्यक्रम र सेवामैत्री संरचना निर्माणको कार्य अघि सारिएको छ। विशेष गरी, ‘एक वडा एक महिला सहकारी’ कार्यक्रम महिला नेतृत्व विकासको स्पष्ट कदम हो।
शिक्षा क्षेत्रमा गाउँपालिका अझै धेरै सक्रिय देखिएको छ। पढ्दै कमाउँदै कार्यक्रम, विद्यालयमा एसटीईएम शिक्षा प्रयोगशाला, कम्प्युटर ल्याब स्थापना, शैक्षिक मेला, भर्ना अभियान, स्वयंसेवक शिक्षक खटाउने कार्यक्रम, संस्कारयुक्त शिक्षाका लागि पाठ्यपुस्तक सुधार, स्थानीय पाठ्यक्रम, छात्रवृत्ति र आवासीय विद्यालयको योजना प्रस्तुत गरिएको छ। शैक्षिक सूचक सुधार गर्न शिक्षक मूल्यांकन प्रणाली, ई-शिक्षा प्रणाली तथा आन्तरिक शैक्षिक भ्रमणसमेत योजनामा छन्।
स्वास्थ्य सेवामा आधारभूत स्वास्थ्य सेवा सबैका लागि भन्ने उद्देश्यले गाउँपिच्छे सेवा प्रवाह सुधारको विशेष कार्यक्रम प्रस्तुत गरिएको छ। पोषण प्याकेज, गर्भवती महिलाका लागि निःशुल्क स्वास्थ्य बीमा, मानसिक स्वास्थ्य सेवा, टोलटोलमा औषधि वितरण, वृद्ध र बालबालिकालाई लक्षित पोषण र सेवा प्रणाली विस्तारले स्वस्थ गाउँ निर्माणको आशा जगाएको छ। साथसाथै, आयुर्वेद सेवा प्रवर्द्धन, अल्ट्रासाउन्ड सेवा विस्तार, स्वास्थ्य संस्थाहरूलाई पोषणमैत्री बनाउने कार्यक्रमहरू पनि घोषित छन्।
युवालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्ने योजनामा विशेष बल दिइएको छ। वैदेशिक रोजगारबाट फर्किएकाहरूका लागि पुनः एकीकरण कार्यक्रम, स्वरोजगार योजना, सीप तालिम, उद्यम सहायता कार्यक्रम र सीप प्रमाणीकरण प्रणालीमार्फत युवाको भविष्य सुनिश्चित गर्ने कार्य योजना उल्लेखनीय छ। साथै, प्रत्येक वडामा खेलमैदान निर्माण, खेलकुद प्रतियोगिता, स्काउट, रेडक्रस, टोल विकास समितिलाई समेटेर नेतृत्व विकास गर्ने नीति अघि सारिएको छ।
सूचना प्रविधिमा ‘डिजिटल लखन’ अवधारणालाई मूर्त रूप दिने प्रयास गरिएको छ। ई-गभर्नेन्स प्रणाली, बायोमेट्रिक प्रणाली, क्युआर कोडसहितको वडा पत्र, सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली, डिजिटल होम सिस्टम, साइबर सुरक्षा जनचेतना कार्यक्रमजस्ता योजनाले गाउँपालिकालाई प्रविधिमा आत्मनिर्भर बनाउनेछ। सबै शैक्षिक संस्थाहरू, स्वास्थ्य चौकीहरू र कार्यालयहरूमा ई-अटेन्डेन्स अनिवार्य गरिने छ।
अन्ततः राजस्व वृद्धि र पारदर्शिताका लागि पनि नीति समेटिएको छ। सम्पत्ति र भूमिकर तिर्नेहरूलाई पुरस्कार, करको स्वघोषणा नीति, राजस्व संकलनमा बढी योगदान गर्ने वडालाई पुरस्कृत गर्ने नीति तथा एकीकृत कर प्रणालीको प्रवर्द्धन गर्ने कार्य प्रस्ताव गरिएको छ।
यी सम्पूर्ण योजनाले सहिद लखन गाउँपालिकाको समृद्धि यात्रालाई स्पष्ट दिशानिर्देश मात्र गरेको छैन, स्थानीय नेतृत्वको दूरदृष्टि, निष्ठा र प्रतिविद्धताको पनि परिचय दिएको छ। यो नीति तथा कार्यक्रम समयमै कार्यान्वयन भएमा गाउँमा परिवर्तन ल्याउने एक सशक्त आधार बन्नेछ।
प्रतिक्रिया