चितवन- नगरपालिकाका जनप्रतिनिधिबीच विवादका कारण नागरिकको सेवामा समेत प्रभावित हुने गरी पटक पटक विवादित निर्णय गर्दै आएको यहाँको राप्ती नगरपालिकाले एकै पटक ७४ जना कर्मचारी हटाएको छ ।
नगरपालिकाले आन्तरिक स्रोतको अभाव र अख्तियारको चासोको कारण देखाउँदै आज सोमबारदेखि लागू हुनेगरी दैनिक ज्यालादारीमा कार्यरत ७४ जना कर्मचारीलाई आकस्मिक सूचना जारी गरेर विदा दिएको छ ।
नगरपालिकाले हटाइने कर्मचारीहरूमा भण्डारा अस्पतालका तीन जना डाक्टरसहित दुई दर्जनभन्दा बढी स्वास्थ्यकर्मी, ल्याब टेक्निसियन, वडा कार्यालयका सहयोगी, चालक, मालीलगायत रहेका छन् ।
नगरपालिकाले आइतबार सूचना जारी गर्दै जेठ २६ गते सोमबार अर्थात् आजदेखि लागू हुने गरी सबै ज्यालादारी कर्मचारीलाई कार्यालय नआउन र हाजिरी नगराउन निर्देशन दिएको हो ।
ज्यालादारी कर्मचारी हटाउने निर्णय नगरपालिकाको १४औँ नगरसभाबाट गठित सहजीकरण समितिले गरेको जनाइएको छ ।
समितिको संयोजक नगरप्रमुख शमेसेर लामा रहेका छन् भने उपप्रमुख देवेन्द्र लामा, वडा नं. २ का अध्यक्ष श्यामसुन्दर उप्रेती, वडा नं. ५ का अध्यक्ष सीताराम तामाङ, वडा नं. ७ की अध्यक्ष सुमिता डल्लाकोटी र वडा नं. १२ का वडाध्यक्ष अर्जुन प्रजा सदस्य रहेका छन् ।
हिजो सार्वजनिक गरिएको सूचनामा समितिले जेठ १९ गते निर्णय गरेको जनाउँदै गर्दै हटाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।
नगरपालिकाको सो निर्णयसँगै नगरका स्वास्थ्य संस्था, शाखा–उपशाखा, वडा कार्यालयहरू र कृषि तथा पशु सेवा केन्द्रको सेवा प्रभावित हुने देखिएको छ ।
स्थानीय तहमा बजेट व्यवस्थापन र स्रोत सुनिश्चितताको चुनौतीबीच आएको यो निर्णयले आगामी दिनमा नगरपालिका भित्र थप विवाद र आलोचना निम्त्याउने संकेत देखिएको छ ।
प्रतिक्रिया