+
Search

ताजा अपडेट +

पपुलर +

मेयर लामाले भनिन्- समाजमा मानवता हराउँदै गयो

पालिका लाइभ
२०८२ जेष्ठ २५, आईतवार ०९:२१ गते

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले पछिल्लो समय समाजमा मानवता हराउँदै गएको बताएकी छिन् । उनले देश र समाजप्रति हेर्न दृष्टिकोण नकारात्मक बनिरहेको बताएकी हुन् ।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजना एवम् हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा शनिबार भएको सञ्चार क्षेत्रमा प्रविधिले ल्याएको चुनौती र अवसर विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मेयर लामाले नकारात्मकताका कारण हाल व्यवस्था र संविधान असफल हुने अवस्थामा पुगेको बताइन् । सकारात्मक समाज निर्माणमा आम सञ्चारकर्मीले भूमिका खेल्नुपर्ने उनको भनाई छ ।

नेताहरूको भिजनलाई तल्लो तहसम्म लैजाने पत्रकारहरूको भूमिका उल्लेख्य रहने भएकाले त्यसतर्फ अग्रसर हुन जरुरी रहेको उनले औँल्याइन् । समाजलाई सुसूचित गरेर नेतृत्वमा बसेकाहरूलाई जवाफदेहिता बनाउने गरी सञ्चारकर्मीहरूले कलम चलाउनुपर्नेमा उनले जोडदिइन् । हीनता, त्रास र डरमा भएको नेतृत्वले समाजको विकास गर्न नसक्ने उनको टिप्पणी छ ।

कार्यक्रममा पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सुरक्षित रूपमा पत्रकारिता गर्ने वातावरण बनाउन राज्यलाई जवाफदेही बनाउनुपर्ने बताए । तीन वटै तहको सरकारले कानुन मार्फत प्रेसलाई नियन्त्रण गर्न खोजेको आभास हुन थालेको उनको भनाई छ ।

त्यसैगरी पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले प्रविधिको तीव्र विकासले परम्परागत रुपमा पत्रकारिता गर्ने सञ्चारमाध्यम संकटमा परिरहेको बताए ।

कार्यक्रममा सञ्चार रजिस्ट्रार रेवती सापकोटाले रचनात्मक पत्रकारिता, एआईले निम्त्याउने चुनौती र यसका सकारात्मक पक्षहरू विषयमा प्रस्तुतीकरण गरेका थिए भने नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकार आचारसंहिता र विपद् पत्रकारिता सम्बन्धी प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics