+
Search

ताजा अपडेट +

पपुलर +

घनश्याम भुसालको दावी- पतञ्जलि जग्गा अनियमिततामा माधव नेपालको संलग्नता छैन

पालिका लाइभ
२०८२ जेष्ठ २४, शनिबार १९:४७ गते

बुटवल- नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा नमुछिएको दाबी गरेका छन्। गृह जिल्ला रुपन्देहीको तिलोत्तमामा पार्टी कार्यक्रमलाई आज सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन्।

आफूहरूले कानुन र अदालतको सम्मान गर्ने तर अख्तियारले दाबी गरे जस्तो अध्यक्ष नेपाल अनियमिततामा संलग्न नरहेको भुसालले दावी गरेका छन्। अख्तियारले नै तामेलीमा राखिसकेको मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बदलाको भावनाले अगाडि बढाएको उनको आरोप थियो।

आफ्ना विरोधीलाई ८४ सालभित्र सकाउने सिलसिलामा अध्यक्ष नेपालमाथि बदला स्वरूप मुद्दा चलाइएको उनले जिकिर गरे। ‘८४ सम्म एमाले र कांग्रेसका मात्रै उम्मेदवार हुने वातावरण बनाउन खोजिएको छ, त्यो पूरा हुँदैन’, उनले भने। भुसालले रास्वपाका सभापति रवि लामिछानेमाथि पनि सरकारले प्रतिशोध साँधेको बताउँदै पार्टी अध्यक्ष नेपालमाथि पनि त्यही नियति दोहोरिएको बताएका छन्। उनले वर्तमान नेतृत्व असफल हुँदा मुलुकमा निराशा देखिएको बताउँदै यसबाट मुक्ति पाउन सुशासन र रोजगारी मूल एजेन्डा हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics