काठमाडौं– शिक्षा क्षेत्रमा खेलेको नेतृत्वदायी भूमिका, प्रतिबद्धता र नयाँ विषयलाई बहसमा ल्याएको भन्दै प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) ले ललितपुर महानगरलाई पुरस्कारसहित सम्मान गरेको छ ।
ललितपुरले देशभरका ६ वटा महानगरपालिकामध्ये शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरिएको हो ।
प्रा.डा. विद्यानाथ कोइरालाको नेतृत्वमा गठित समितिले २५ वटा शैक्षिक मापदण्डको आधारमा मूल्याङकन गरेर महानगरलाई ‘उत्कृष्ट महानगरपालिका पुरस्कार, २०८२’ बाट पुरस्कारसहित सम्मान गरेको हाे।
शिक्षामन्त्री रघुजी पन्तले महानगर प्रमुख चिरीबाबु महर्जनलाई सम्मानसहित पुरस्कार प्रदान गरे ।
शिक्षामन्त्री पन्तले सामूदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न अहोरात्र काम गरेको बताए ।
महानगर प्रमुख महर्जनले ललितपुर महानगर शिक्षाको हब भएको बताउँदै सामूदायिक शिक्षाको विकास र गुणस्तर सुधारका लागि प्रभावकारी काम गरेको बताए ।
आगामी वर्ष प्रभावकारी र नविनतम् योजनाहरु ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।
शिक्षा विज्ञ प्रा.डा. कोइरालाले सामूदायिक विद्यालय र त्यहाँ पढेका विद्यार्थीसँग अथाह सम्भावना भएको बताउँदै प्रविधि र पुस्तक र ज्ञानलाई एक अर्कासँग जोड्न अघि बढ्नु पर्ने धारणा राखे ।
कार्यक्रममा देशभरबाट छनोट भएका उत्कृष्ट गाउँपालिका, उत्कृष्ट नगरपालिका, उत्कृष्ट प्राधानाध्यापक र उत्कृष्ट विद्यालयलाई सम्मानसहित पुरस्कृत गरिएको छ ।
प्रतिक्रिया