काठमाडौं– सरकारले सिमेन्टमा ५ प्रतिशत अन्तःशुल्क लगाएपछि सिमेन्टको भाउ प्रतिबोरा २० रुपैयाँसम्मले बढेको छ ।
यसअघि प्रतिटन सिमेन्टमा २ सय २० रुपैयाँ अन्तःशुल्क लाग्ने गरेकोमा त्यो बढाएर मूल्यको ५ प्रतिशत पुर्याइएपछि सिमेन्टको मूल्य बढेको सिमेन्ट उत्पादक संघ अध्यक्ष रघुनन्दन मारुले बताए ।
‘पहिला प्रतिबोरा ११ रुपैयाँ अन्तःशुल्क लाग्थ्यो, बढेपछि ३५ रुपैयाँसम्म पुग्यो, त्यसै हिसाबले मूल्य बढेको छ,’ अध्यक्ष मारुले भने, ‘औसतमा प्रतिबोरा २० रुपैयाँले भाउ बढेको छ ।’
सिमेन्टको ब्रान्ड र प्रकार अनुसार मूल्य बढेको उनले बताए ।
सिमेन्ट उत्पादकहरूले उद्योग घाटामा गएको र चलाउन नसकिने अवस्था आएको भन्दै २०८१ मंसिर–पुसदेखि २–३ दिनको अन्तरालमा सिमेन्टको भाउ बढाउँदै आएका थिए । उनीहरूले भाउ बढाएपछि ‘कार्टेलिङ’ गरेको आरोप लागेको थियो ।
अर्घखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले अन्तःशुल्क दर मूल्यको ५ प्रतिशत कायम गरिएपछि सिमेन्टको भाउ प्रतिबोरा १५ देखि २० रुपैयाँ वृद्धि भएको बताए ।
उनका अनुसार नयाँ दर कायम भएपछि ठाउँ अनुसार मूल्य बढ्ने छ ।
प्रतिक्रिया