+
Search

ताजा अपडेट +

पपुलर +

गाउँघरकाे सिंहदरबार

अजिरकोटको ओलाङमा होमस्टे उद्घाटन: पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना

पालिका लाइभ
२०८२ जेष्ठ १७, शनिबार १४:४० गते

गोरखा– प्राकृतिक सौन्दर्य, संस्कृतिको विविधता र ऐतिहासिक घटनाहरूले भरिएको अजिरकोट गाउँपालिका–२ को खरिबाेट ओलाङ गाउँ अब पर्यटन प्रवर्द्धनतर्फ अघि बढेको छ।

२०७२ मा विनाशकारी भूकम्पको क्षति व्यहोरेको यो गाउँमा शनिवारदेखि औपचारिक रूपमा होमस्टे सेवा सुरु गरिएको छ। अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले एक कार्यक्रमकाबीच ‘ओलाङ होमस्टे’को उद्घाटन गरे।

गुरुङ र तामाङ जातिको बाहुल्यता रहेको ओलाङ गाउँ विगतमा विस्थापित र पुनर्निर्माणको कहालीलाग्दो अनुभूति बोकेको गाउँ हो। तर, अब यही गाउँले आफ्नो सांस्कृतिक सम्पदा र प्राकृतिक आकर्षणको प्रयोग गर्दै नयाँ दिशा लिन थालेको छ।

अध्यक्ष देवकोटाले उद्घाटन समारोहमा बोल्दै भने, ‘ओलाङको होमस्टे सेवा ग्रामीण पर्यटनको दृष्टिकोणले ऐतिहासिक मोड हो। अब यहाँका पाहुनाले हिमाली जीवनशैली र संस्कृतिको प्रत्यक्ष अनुभव लिन सक्नेछन्।’

गाउँमा सुरु गरिएको होमस्टेले स्थानीय बासिन्दालाई आयआर्जनको नयाँ बाटो खोलेको छ।

परम्परागत घरहरूलाई स्थानीय शैलीमा परिष्कृत गरी पाहुनालाई स्वागत गर्न मिल्ने बनाइएको छ। यहाँ आउने पर्यटकले तामाङ र गुरुङ समुदायको आतिथ्यता, खानपान, संस्कृति, नाचगान र जीवनशैली नजिकबाट बुझ्न पाउनेछन्।

ओलाङ गाउँ हाल जलविद्युत् परियोजनाको केन्द्रबिन्दु पनि बनेको छ।

चेपे खोलामा साना तथा मझौला जलविद्युत् योजनाले गाउँको आर्थिक गतिविधिमा उल्लेखनीय परिवर्तन ल्याउन थालेका छन्। विद्युत, बाटो, संचारजस्ता पूर्वाधार विस्तार हुँदै जाँदा यहाँ पर्यटक भित्र्याउने सम्भावना बढेको स्थानीय निरञ्जन गुरुङ बताउँछन्।

गाउँपालिका अध्यक्ष देवकोटाका अनुसार गाउँपालिका स्तरबाट होमस्टे प्रवर्द्धनका लागि बजेट विनियोजन गरिएको छ। ‘अहिले सुरु भएको होमस्टे सेवा अरू वडामा पनि विस्तार गर्ने योजना छ,’ उनले भने, ‘यसका लागि तालिम, बजेट र आवश्यक प्राविधिक सहयोग दिइनेछ।’

प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिएको यो ठाउँ अब बिस्तारै पर्यटकहरूको गन्तव्य बन्ने सम्भावनातर्फ उन्मुख भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics