+
Search

ताजा अपडेट +

पपुलर +

संकटमा एनआईसी एसिया बैंक

‘बैंक लिलामीमै अल्झियो, हामी कहाँ जाउँ?’

सामाजिक सञ्जालमा प्रतिक्रिया आउन थालेका छन्- 'बैंक लिलामीको व्यापारमा लागेको देखिन्छ, अब खाता सार्ने बेला भयो।' कतिपयले लेखेका छन्, 'जहाँ लिलामी बढ्छ, त्यहाँ बैंकको जोखिम गहिरिन्छ।' यस्तो सन्देशले आम जनमानसमा बैंकप्रति भरोसा घटेको सेवाग्राही बताउँछन् ।

पालिका लाइभ
२०८२ जेष्ठ १६, शुक्रबार १५:५३ गते

काठमाडाैं- सहकारी क्षेत्रमा फैलिएको आर्थिक संकटको छायाँ अब व्यावसायिक रूपमा बैंकिङ प्रणालीमा समेत देखिन थालेको छ। यो संकटको ज्वलन्त उदाहरण बनेको छ– एनआईसी एशिया बैंक।

केही वर्ष अघिसम्म ‘आधुनिक, डिजिटल, पहुँचयुक्त’ भन्दै व्यापक प्रचार गरिरहेको यो बैंक अहिले लिलामीका सूचना, ऋणीको टर्चर र नाफामा भारी गिरावटका खबरले चिनिन थालेको छ। बैंकका ग्राहकदेखि लगानीकर्ता, कर्मचारीदेखि नियामक निकायसम्म सबैको आँखामा अहिले एउटै प्रश्न झुन्डिएको छ- ‘के एनआईसी एशिया डुब्न थालेको हो?’

बैंकले हालै सार्वजनिक गरेको आर्थिक विवरणले स्थिति निकै गम्भीर छ भन्ने संकेत गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ९२ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब ९१ करोड रुपैयाँ नाफा गरेको बैंक अहिले मात्र १५ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ। यति मात्र होइन, कुल वितरणयोग्य मुनाफा ऋणात्मक ३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ, जसको अर्थ, अब यो बैंक लाभांश दिन सक्ने अवस्थामा छैन। यसले लगानीकर्ताको मनोबलमाथि गम्भीर आघात पुर्‍याएको छ, जसको असर सेयर बजारमा बैंकको मूल्य झनै घटेकाे छ।

बैंकको आर्थिक पतनसँगै ग्राहकहरूको मनमा गहिरिँदो अविश्वास फैलिएको छ। देशका विभिन्न शाखाहरू कास्की, चितवन, बुटवल, मोरङ लगायत स्थानहरूमा खाता खोलेका नागरिकहरूले पैसा फिर्ता लिन लाइन लाग्ने अवस्था सिर्जना भएको छ। केही शाखाका कर्मचारीहरूले आफन्तलाई नै पैसा झिक्न सुझाव दिएको रिपोर्ट सार्वजनिक भएको छ, जसले बैंकभित्रैको आन्तरिक त्रास देखाउँछ। त्यसो त एनआईसी एशिया बैंकले यो अवस्था सामान्य रहेको भन्दै विभिन्न मिडिया हाउसमार्फत ‘सबै ठिक छ’ भन्ने प्रचार अभियान चलाएको छ। तर, तथ्यांकहरू र सार्वजनिक व्यवहारले त्यस्तो सन्देशको वास्तविकता पटक्कै पुष्टि गर्दैन।

बैंकको मुख्य समस्या भनेको जोखिमयुक्त कर्जाको अस्वस्थ प्रवाह र त्यसको असुलीमा देखिएको असफलता हो। घरजग्गा, व्यावसायिक योजना र निजी ऋणका नाममा दिएको ठूला रकम समयमै असुल्न नसकेपछि बैंकले लिलामी प्रक्रियालाई तीव्र बनाएको छ। खास कुरा त के हो भने, बैंकले सम्पत्ति लिलामीका लागि छुट्टै वेबसाइट नै सञ्चालनमा ल्याएको छ। यस वेबसाइटमा दिनहुँ नयाँ घर, फ्ल्याट र जमिन थपिँदै गएको देखिन्छ। आर्थिक कारोबारभन्दा लिलामी व्यवसायतर्फ केन्द्रित जस्तो देखिएको बैंकको यो व्यवहारलाई सामाजिक सञ्जालमा आलोचना गर्दै प्रश्न साेध्न थालिएकाे छ- ‘बैंक हो कि लिलामी केन्द्र?’

बैंकिङ प्रणालीमा यति गहिरो दरार आउँदा राष्ट्र बैंक पनि चुपचाप बसेको आरोप लाग्न थालेको छ। राष्ट्र बैंकको २०७९/८० को वित्तीय स्थायित्व प्रतिवेदनअनुसार एनआईसी एशियाको गैरकार्यशील कर्जा (एनपीएल) खतराको तह पार गरिसकेको छ। यद्यपि राष्ट्र बैंकले पटक–पटक कर्जा प्रवाहमा संयमता अपनाउन निर्देशन दिँदै आएको थियो, एनआईसीले भने कर्जा नीति लचिलो बनाएर लाभमा ध्यान दिँदै नियम मिच्दै आएको प्रमाणित भएको छ।

संकट यति गहिरिएको छ कि बैंकभित्रका वरिष्ठ कर्मचारीहरू समेत विवादमा तानिएका छन्। चर्चित ‘गोठालो प्रकरण’मा बैंकका केही अधिकारीहरूको संलग्नता रहेको भन्दै आलोचना भइरहेको छ। यद्यपि बैंकले ती आरोप अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा रहेको बताएको छ। अर्को रोचक तथ्य के छ भने, बैंकका सीईओ राेशन कुमार न्यौपानेले समेत राजीनामा दिएका छन्, जसलाई संकटबाट पन्छिन गरिएको कदमका रूपमा व्याख्या गरिएको छ। तर, उनको राजीनामा भने स्वीकृत गरिएको छैन ।

एनआईसी एशिया संकटसँगै उठेको अर्को गम्भीर प्रश्न भनेको बैंकिङ प्रणालीप्रति आम जनताको भरोसा कति बाँकी रहन्छ भन्ने हो। जब बैंकले आफ्ना ग्राहकलाई विश्वास दिन सक्दैन, जब ऋणीलाई दिनरात टर्चर गरिन्छ, जब आम नागरिकको सम्पत्तिको लिलामीमार्फत व्यापार गरिन्छ, तब त्यो संस्था ‘बैंक’भन्दा पनि ‘हाकिमको कम्पनी’जस्तो देखिन्छ। यस्ता उदाहरणले भविष्यमा नेपाली बैंकिङ क्षेत्रको विश्वसनीयता, पारदर्शिता र नियमन प्रणालीमाथि प्रश्न चिन्ह खडा गर्न थालेको छ।

एनआईसी एशिया बैंकका सूचना अधिकारी अर्जुनराज खनिया भने बैंकको यो अवस्था समग्र अर्थतन्त्रको मन्दीको असर भएको दाबी गर्छन्। उनका अनुसार, ‘व्यापारिक गतिविधि घटेको, माग घटेको, मुद्रास्फीति बढेको जस्ता कारणले बैंकको नाफा घट्न पुगेकाे हाे।’ तर यस्ता कारणले मात्र यति ठूलो गिरावट आउनु स्वीकार्य नभएको विश्लेषकहरू बताउँछन्। खनियाले तलब, सुविधा, डिजिटल बैंकिङमा भएको लगानी आदिले खर्च बढेको बताएका छन् तर धेरै विश्लेषक यसलाई व्यवस्थापकीय अकुशलताको परिणाम ठान्छन्।

बैंक अहिले यति असहज अवस्थामा पुगेको छ कि आफ्ना शेयरधनीहरूलाई लाभांश त दिने अवस्था छैन नै, स्वयं शेयरहरू बेचेर व्यवस्थापन चलाउने दिशामा अग्रसर देखिन्छ। बैकले सूर्यज्योति लाइफ इन्स्योरेन्स, सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोषको सेयर बेचेकाे थियाे ।सञ्चालक समितिका अध्यक्षमाथि ‘किर्ते कार्य’, ‘सूचना दुरुपयोग’ र ‘मिडिया प्रभावित’ जस्ता आरोप लाग्न थालेको छ। बैंककै ब्रान्ड एन्ड कम्युनिकेसन प्रमुख सरोज भट्टराई अनुशासन कारबाहीमा परेका छन्। राष्ट्र बैंकले समेत बैंकमाथि नियमनात्मक कारबाही थालिसकेको छ।

सार्वजनिक रूपमा उभिने वित्तीय संस्था, जसले ‘बैंक पनि साथी पनि’ भनेर नारा दिएको थियो, आज साथीहरूकै सम्पत्ति लिलामी गर्दै, ऋणीलाई धम्क्याउँदै, नियमन नटेरेर संस्थागत संकटतर्फ अघि बढेको दृश्य नेपाली वित्तीय इतिहासकै दुर्भाग्यपूर्ण अध्याय बन्न सक्ने संकेत देखिँदैछ। यस्तो स्थितिमा आम ग्राहक, सेयर लगानीकर्ता र ऋणीको एउटै आवाज छ- ‘अब हामी कहाँ जाऊँ?’

याे पनि,

एनआईसी एशिया बैंकका सीईओको राजीनामा !

संकटमा एनआईसी एशिया बैंक: आठ महिनामै मुनाफा ६७.७५ प्रतिशतले घट्यो

एनआईसीका कम्युनिकेसन प्रमुख भट्टराई कारबाहीमा, मिडियाबाट अनुचित लाभ लिएको आरोप

एनआईसीका अध्यक्ष तुलसीराम अग्रवाल किर्ते कार्यमा संलग्न

संकटमा एनआईसी एसिया, धमाधम बेच्दै स्वामित्वको शेयर

‘बैंक पनि साथी पनि’ भन्दै साथीलाई नै लुट्दै एनआईसी एसिया बैंक

काण्डै-काण्डपछि संकटको बाटोमा एनआईसी एशिया : नाफामा उच्च गिरावट, कर्जा असुली गर्न छुट तर ‘असफल’

संकटको बाटो पछ्याउँदै एनआईसी एसिया, निफ्राबाट किन बाहिरियो?

बैंकको आतंक बढ्दै, ऋणीलाई दिनरात टर्चर दिदैं एनआइसी एसिया, राष्ट्र बैक मूकदर्शक!

धापासीको अर्बौँको जग्गा कौडीको भाउमा कब्जा गर्दै ‘एनआईसी एशिया’

संकटमा एनआइसी: ‘रिकभरी’मा समस्यापछि भाखा नाघेका ऋणीलाई भुक्तानीमा छुट

संकटको बाटो पछ्याउँदै एनआईसी एशिया, ऋण भन्दा धितो असुलेर ‘बिचल्ली बनाउन उद्यत’

संकटमा एनआईसी: ऋण उठाउन नसकेपछि गुहार्‍यो ‘कम्पनी रजिस्ट्रार कार्यालय’

संकटमा एनआईसी: भू-माफियाको मिलेमतोमा ऋणीको धितो बिक्री, स्थानीय आन्दोलित

संकटमा एनआईसी एशिया बैंक, सेयर भाउ निरन्तर ओरालो

संकटमा एनआईसी एसिया बैंक, राष्ट्र बैंकले गर्‍यो कारबाही

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics