काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत हुँदा विपक्षीहरूले संसद् अवरोध नगर्ने भएका छन् ।
भोलि, १५ जेठमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर विपक्षीहरूले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएका छन् ।
आज पनि बैठक चल्न सकेको छैन । तर, विपक्षीहरूले बजेट प्रस्तुत हुँदा संसद् बैठक अवरोध नगर्ने भएका छन् ।
बजेट ल्याउने प्रक्रियामा सहयोग माग्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज बिहान फोन गरेका थिए ।
दोस्रो ठूलो विपक्षी रास्वपाले पनि बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने निर्णय लिएको छ ।
संसद् भवन बाहिर प्रतिक्रिया दिँदै कार्यबाहक प्रवक्ता मनिष झाले बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने बताए । ‘संवैधानिक प्रक्रिया अनुसार ल्याइने बजेट रोक्दैनौं’, उनले भने ।
उनले गृहमन्त्रीलाई संसदमा बोल्न नदिने भन्ने पार्टीको अडान नरहेको पनि बताए ।
‘गृहमन्त्री अघि बोल्न हामीले पाउनुपर्छ भन्ने हाम्रो माग हो । बोल्नै नदिने भनेका छैनौं,’ उनले भने ।
माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि बजेट प्रस्तुत हुँदा संसद् अवरोध नगर्ने तयारी गरेको छ ।
प्रतिक्रिया