काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार केन्द्रका सचिव सरजुकुमार वैद्यले प्रधानमन्त्री ओलीसमक्ष प्रतिवेदन पेस गरेका हुन्।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन र विकासको मुख्य कार्यभार लिएर वर्तमान सरकार बनेकाले ती काममा केन्द्रले आफ्नो तर्फबाट प्रभावकारीरुपमा काम गर्न निर्देशन दिए।
प्रधानमन्त्रीले केन्द्रका अधिकारीहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नियमितरुपमा रिपोर्टिङ गर्न निर्देशन दिए। ‘सतर्कता केन्द्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको निकाय हो। त्यसैले केन्द्रले आफ्ना काम निरमितरुपमा रिपोर्टिङ गर्नुपर्छ,’ उनले भने, ‘निर्देशन पालना गर्ने सवालमा पनि केन्द्र अझ सक्रिय हुन आवश्यक छ।’
केन्द्रले सार्वजनिक निकायबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन अनुगमन, छड्के जाँचलगायत काम गर्दै आएको छ। अनुगमनका क्रममा कुनै अनियमितता भेटिएमा केन्द्रले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने गरेको छ।
कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालसहित उच्चाधिकारीहरु सहभागी थिए।
प्रतिवेदनमा १६ औँ योजनाको लक्ष्य अनुसार भ्रष्टाचार अन्त्य र सुशासन कायमका लागि केन्द्रले सार्वजनिक निकायबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन र अनुगमन, छड्के जाँच आदि कार्य गर्दै आएको छ।
अनुगमनका क्रममा कुनै अनियमितता भेटिएमा केन्द्रले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने गर्दछ। सुशासन कायमका लागि २०५९ साउन २७ गते प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेखमा सो केन्द्र स्थापना भएको थियो।
प्रतिक्रिया