सिरहा– नवराजपुर गाउँपालिकामा शिक्षक नियुक्तिमा आर्थिक अनियमितता भएको पाइएको छ। गाउँपालिकाका अध्यक्ष, शिक्षा इकाईका कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको मिलेमतोमा ५ लाखदेखि ८ लाख रुपैयाँसम्म असुली गरेर नियुक्ति प्रक्रिया अघि बढाइएको प्रमाणहरू फेला परेको हो।
नवराजपुर–४ स्थित जनता नमुना माध्यमिक विद्यालयमा ०८१ असार १२ गते विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार असार १६ गते ९ जनाको लागी र चैत ५ गते पुनः ३ जना गरी जम्मा १२ जना शिक्षक पदपूर्तिको लागि सूचना प्रकाशित गरेको छ। जसमा १५१ जनाले दरखास्त दिएका थिए।
तर, नियुक्ति प्रक्रिया अघि बढाउने क्रममा पालिकाले राजनीतिक र आर्थिक प्रभावमा पारी शिक्षा विकास तथा समन्वय इकाईसँग सेटिङ गरेर शिक्षा समितिबाट अस्थायी विद्यालय व्यवस्थापन समिति गठन गर्नका लागी सिफारिस लिएको देखिन्छ।
कानुनले विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयले कम्तीमा तिन पटक अभिभावक भेला वोलाएर समिति गठन गर्नुपर्ने प्रावधान छन्। तर, विद्यालयले कानुन मिच्दै अभिभावक भेला नै नवोलाई शिक्षा समितिबाट निर्णय गराइउने प्रपञ्च रचेको देखिन्छ। अभिभावक भेला बिना नै शिक्षा समितिको निर्णयमा आधारित रहेर पालिका अध्यक्ष यादवले आफ्ना निकट रामचन्द्र यादव, रामकुमार यादव, तारादेवी यादव र अमिरका यादवलाई अस्थायी समिति सदस्य बनाएका थिए।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत घुरन यादव र विद्यालय समितिका सदस्य जीवछ यादवबीचको फोन संवादमा नियुक्तिको लागी उठाइएको पैसाबारे कुराकानी गरेको अडियो प्रमाण फेला परेको हो।
संवादमा यादवले जीवछ यादवलाई, ‘जसको पैसा लिएको छु, उसको नाम नै निस्केन। उठाएको एक पैसा पनि मुखिया ज्यु कहाँ गएको छैन,। मुखिया भनेको (पालिका अध्यक्ष)लाई उपनामबाट सम्बोधन गरेका छन्। उनले प्रभात ठाकुरको ५ लाख मात्र अध्यक्ष कहाँ गएको भन्दै बाँकी रकम प्रधानाध्यापक शर्माले लिइएको बताएका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र यादवले शिक्षक नियुक्तिको सट्टामा भोज खर्च बापत रकम मागेको प्रमाणसमेत भेटिएको छ। एकजना व्यक्तिसँग ८ लाखसम्मको डिमान्ड गरेको थियो। ठुलो रकम भएको भन्दै अस्वीकार गरे पनि अध्यक्षले ‘भोजको लागि १ लाख ५० हजार दिनुस्, म प्रयास गर्छु’ भनेपछि उनले चेक दिएका थिए। चेकमार्फत रकम त निकालियो, तर जागिर भने नलगाइदिएको उनको गुनासो छ।
त्यति मात्र होइन परीक्षाको एकदिन अगाडी नै राती १ बजेर १३ मिनेटमा बरीयारपट्टी गाउँपालिका १ आधारभूत विद्यालयका प्रधानाध्यापक राम शुफल यादवको मोबाइल नम्बर *****६२१७० बाट प्रश्न पत्र आउट भएको समेत फेला परेको छ। सो नम्बरबाट प्रश्नपत्रसँगै उत्तर समेत पठाएको देखिन्छ।
यस विषयमा विद्यालयका प्रधानाध्यापक शर्मासँगै परीक्षाको एकदिन अगावै पश्नपत्र बाहिरिएको र शिक्षक नियुक्तिमा तपाईले नै रकम असुलेको प्रमाणहरू फेला परेको छ। यसमा तपाई के भन्न चाहनुहुन्छ? प्रश्नमा उनले भने, ‘यो सबै अफवाह हो। कसले र कसरी प्रश्न पत्र बाहिरिएको हो मलाई थाहा छैन। यो ईडिटिङ पनि गरेको हुनसक्छ।’
यसै विषयमा गाउँपालिका अध्यक्षसँगै जिज्ञासा राख्दा उनले यो सबै निराधार भएकाे र विपक्षीले भ्रम फैलाउन खोजिएको दाबी गरे। ‘कसैले पैसा लिएको प्रमाण फेला परे’ कार्यवाही हुन्छ ।
शिक्षक नियुक्ति जस्तो संवेदनशील विषयमा आर्थिक लेनदेन र राजनीतिक हस्तक्षेपले शिक्षा क्षेत्रलाई बरबाद पारिएको जानकारहरू बताउँछन्। जनप्रतिनिधिहरू र कर्मचारीहरूले विद्यालयलाई सिकाइको केन्द्र होइन, कमाइको माध्यम बनाइएको उनीहरूको भनाई छ।
प्रतिक्रिया