+
Search

ताजा अपडेट +

पपुलर +

'बाटा छन्, गाडी छैनन्; स्कुल छन्, विद्यार्थी छैनन्'

पर्वतमा प्रचण्डले भने- विमानस्थलबाट दिनहुँ ५०औँ लाख भ्रष्टाचारको रूपमा सरकारको हातमा जाँदैछ

उनले भने, ‘अहिले म सुन्दैछु विमानस्थल भन्सारमा लाखौँ–करोडौँको घोटाला हुने गरेको छ । म प्रधानमन्त्री र नारायणकाजी गृहमन्त्री भएको बेलामा हामीले एकपछि अर्को नीतिगत निर्णय गर्दै टाइट गर्दै लगेका थियौँ। अहिले एउटै रुटबाट सरकारको हातमा ५०औँ लाख गइरहेको छ भ्रष्टाचारको रूपमा । यो स्थिति भएपछि कसरी आर्थिक स्थितिमा सुधार हुन्छ ?’

२०८२ जेष्ठ ९, शुक्रबार

पर्वत– माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले देशमा व्याप्त भ्रष्टाचार र कुशासनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसको विरुद्ध नयाँ आन्दोलनको खाँचो रहेको बताएका छन्।

शुक्रवार पर्वतमा आयोजित ‘जनसंवाद’ कार्यक्रममा बोल्दै उनले दैनिक ५० लाख रुपैयाँसम्मको भ्रष्टाचार खुलेआम भइरहेको उल्लेख गर्दै यस्तो प्रवृत्तिलाई जरैदेखि उखेल्नुपर्ने धारणा राखे। ‘हामीले पहिले पनि भ्रष्टाचारविरुद्ध लड्यौँ, फेरि पनि लड्न तयार छौँ,’ उनले थपे, ‘जबसम्म माथिल्लो तह सफा हुँदैन, तबसम्म तल केही सुध्रिँदैन। हामीले इमानदारीको बाटो रोज्नपर्छ।’

गणतन्त्रका आधारभूत एजेन्डा अपूरा छन्

प्रचण्डले २०६२/६३ को जनआन्दोलन र माओवादी जनयुद्धबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता लगायतका संवैधानिक उपलब्धिहरू अझै व्यवहारिक रूपमा कार्यान्वयनमा आउन नसकेको बताए। ‘महिला, दलित, गरिब, अपाङ्ग, घाइते, सहिद परिवार, मुस्लिम, पिछडिएका वर्ग, एकल महिला लगायत उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नु माओवादी आन्दोलनको मुटु हो। तर आज पनि उनीहरू दोहोरो अन्यायमा छन्,’ उनले भने।

‘बाटा छन्, गाडी छैनन्; स्कुल छन्, विद्यार्थी छैनन्’

विकासको नाममा देखावटी काम भएको भन्दै प्रचण्डले गाउँ रित्तिँदै गएकोप्रति चिन्ता व्यक्त गरे। ‘गाउँमा कालोपत्रे बाटा छन्, तर चल्ने गाडी छैनन्। राम्रा भवन भएका स्कुल छन्, तर विद्यार्थी छैनन्। गाउँबाट जनशक्ति हराउँदै गएको छ,’ उनले दुखेसो गरे।

गणतन्त्र नेपालको आफू पहिलो प्रधानमन्त्री भएका बेला पर्वत र बागलुङ भएर उत्तर दक्षिण जोड्ने बहुआयामिक  कालीगण्डकी लोकमार्ग, कोरिडोरको काम सुरुवात गरेको स्मरण उनले गरे।  यसै सडक मुख्यमुख्य ठाउँमा १० वटा नयाँ सहरको परिकल्पना गरेर सुरुवात गरिएको सडकको करिब आधा भन्दा बढी काम सप्रन्न भैसकेको बताए।

उनले तिनै शहरमा  ग्रामीण पर्यटन र साना उद्योगको विकासमार्फत हजारौँ युवालाई स्वरोजगार दिने योजना उसै बेला अघि सारेको बताए।

प्रचण्डले वर्तमान सत्ता व्यवस्थाप्रति प्रत्यक्ष आलोचना नगरे पनि भ्रष्टाचार र बेथितिका विरुद्ध चुप लागेर बस्न नसकिने संकेत गरे। ‘हिजो जसरी रातारात करोडौँ खानेहरूका विरुद्ध लड्यौँ, आज पनि त्यस्ता बेथितिलाई सहेर बस्ने अवस्थामा छैनौँ,’ उनले चेतावनी दिए।

उनले भने, ‘देशमा फेरि पनि इमानदार नेतृत्वको खाँचो छ। यदि यथास्थितिवाद कायम रहिरह्यो भने, इमानदार राजनीतिक शक्तिहरू निर्णायक मोडमा पुग्न सक्छन्।’

जनसंवाद : जनतालाई प्रत्यक्ष सुन्ने अभियान

माओवादी केन्द्रद्वारा आयोजित ‘जनसंवाद’ कार्यक्रम पार्टी संगठनको नियमित कार्यक्रम नभई विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सुरक्षाकर्मी, कर्मचारी, व्यवसायी र आम नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्ने अभियान हो।

प्रचण्डले भने, ‘हामी रिपोर्ट पढ्न होइन, जनताको अनुहार हेर्न र उनीहरूको आवाज सुन्न आएका हौँ। जनताको अनुहारमा लेखिएको पीडा बुझेर मात्रै निर्णय गर्न सकिन्छ।’

प्रचण्डले रोजगारी सिर्जना, सुशासन, र समावेशी विकासको निम्ति आफूहरू फेरि लड्न तयार रहेको स्पष्ट संकेत गरे। ‘हामी अझै अधुरो सपना पूरा गर्न बाँकी छौँ। मुलुक फेरि निर्माणको मोडमा छ, र त्यो निर्माण इमानदार आन्दोलनबाटै सम्भव छ,’ उनले भने।

जनजागरण अभियान भोलि पोखरामा बृहत् आमसभा पछि केही समयका लागि रोकिने छ।

प्रतिक्रिया

लेखकको बारेमा