गोरखा– एक समयको ठूलो आशा बोकेको ‘भच्चेक मोर्डन अस्पताल’ आज भच्चेक बजारमा चिया पसलका चर्चासम्म सीमित भएको छ। स्थानीय तह लागु भएसंगै भच्चेकमा स्थापना भएको यो अस्पताल अवैध रूपमा सञ्चाल भइरहेको पुष्टि भएपछि सरकारी निर्देशन अनुसार बन्द भएकाे हाे।
२०७७ सालको कोरोना महामारीको चपेटामा परिरहेको बेला, अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेक बजारमा १५ शैय्याको ‘भच्चेक मोर्डन अस्पताल’को स्थापना भयो। त्यतिबेला सरकारी निकायहरू कर्मचारी अभावले थलिएका थिए, र भच्चेक क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवामा ठूलो कठिनाइ थियो। यस्ताे अवस्थामा स्थापित यो निजी अस्पतालले जनतालाई एक किसिमको राहत दिलायो।
त्यतिबेला गाउँपालिकामा कांग्रेसका फणीन्द्र प्रसाद धिताल अध्यक्ष थिए भने प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञवाली थिए। भच्चेक बजारमा सरकारी स्तरको स्वास्थ्य चौकी मात्र थियो, जसमा पनि कर्मचारीको कमीका कारण सेवा प्रभावकारी थिएन। त्यसैले भच्चेकमा स्थापना भएकाे यो अस्पताललाई स्थानीयवासीले आशाको केन्द्र माने।
स्थापना पश्चात् केही समयसम्म यो अस्पतालले राम्रो सेवा दिएको जनमानसमा धारणा बन्यो। तर, पछि अस्पतालमा अनियमितता सुरु भयो। स्रोतका अनुसार, स्वास्थ्य सेवा मापदण्ड विपरीत, करिब ७० हजार रुपैयाँ लिएर अवैध रूपमा गर्भपतन सेवा दिइएकाे सूचना तत्कालिन पालिका नेतृत्वलाई प्राप्त भयाे। अस्पतालमा अनधिकृत तरिकाले केही रकम लिएर गर्भपतन भएकाे चर्चा र हल्लासंगै तत्कालका लागि यो खबर हावा जसरी फैलिएको भए पनि तत्कालीन पालिकाको नेतृत्वले अस्पतालको रक्षा गर्याे ।
अझ, स्थानीय पालिकालाई फार्मेसीमार्फत गैरकानुनी रूपमा लागुपदार्थ (ड्रक्स) समेत बिक्री भइरहेको गम्भीर सूचना प्राप्त भएपनि तत्काल समयमा आवश्यक अनुगमन प्रक्रिया अघि नबढाई त्यो अस्पताल बन्द हुनुबाट जोगिएको थियो। यद्यपि उक्त आरोप तत्कालै पुष्टि नभए पनि, यसले अस्पतालको छविमा गम्भीर असर पारेको थियो।
पछिल्लो समय अनुगमन समितिको सक्रियतापछि भच्चेक मोर्डन अस्पतालका कमजोरीहरू सतहमा आउन थाले। स्वास्थ्य संस्था सञ्चालन निर्देशिका तथा स्वास्थ्य सेवा विभागका कानुनी प्रावधानअनुसार १५ शैय्याको अस्पताल सञ्चालन गर्न भवन, प्रसूति कक्ष, आकस्मिक सेवा, ल्याब, शौचालय, शुद्ध पानी, दर्ता भएको फार्मेसी, सफा वातावरण, एक्स-रे कोठा, एमबिबिएस डाक्टर, स्टाफ नर्स, ल्याब टेक्निसियन, फार्मेसी सहायक लगायत अनिवार्य पूर्वाधार तथा जनशक्ति नभएकाे भेटियाे ।
तर, अस्पतालमा यी आधारभूत मापदण्डमा कतै पनि उल्लेख भएकाे फेला पारेन। अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालको नेतृत्वमा २०८१ फागुन १६ गते गरिएको अनुगमनमा अस्पतालले जनस्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने गरी सञ्चालन भएको पाइयो। समितिले तत्काल अस्पतालका उपकरण जफत गर्दै दर्ता तथा नवीकरण प्रक्रियामा रोक लगाउने निर्णय गर्यो।
गाउँपालिकाबाट पटक–पटक ताकेता गरिए पनि अस्पतालका सञ्चालकहरूले कुनै ध्यान नदिएपछि अवस्था बिग्रिँदै गयो। अन्ततः अस्पताल बन्द गरियो, र सञ्चालकहरू भच्चेक बजार छाडेर हिँडे। यतिबेला यो विषय स्थानीयस्तरमा चिया गफको मुख्य विषय बनेको छ।
त्यतिबेला भच्चेक बजारमा तीनवटा निजी मेडिकल फार्मेसी सञ्चालनमा थिए, तीमध्ये केहीको दर्ता नभएको तथा म्याद गुज्रेका औषधिहरू समेत राखिएको पाइएको थियो। अस्पताल मात्र नभई यस क्षेत्रका अन्य औषधि पसलहरूले समेत स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्दै सञ्चालनमा रहेकाे अनुगमन प्रतिवेदनमा उल्लेख छ।
स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार अस्पतालहरूले वार्षिक रूपमा आफ्नो दर्ता नवीकरण गर्नुपर्ने हुन्छ, जुन भच्चेक मोर्डन अस्पतालले लामो समयदेखि नगरेको पाइयो। अझ, एक्स–रे सेवा खुला ठाउँमा गरेकाे, मूल्य सूची नटाँसिएको, सेवा सूचनाको अभाव, औषधिहरूको दुर्व्यवस्थापन र फोहरमैला व्यवस्थापन पनि कमजोर रहेको अनुगमन समितिले औँल्याएको छ।
सरकारले गाउँ गाउँमा स्वास्थ्य सेवा पुर्याउने नीति अन्तर्गत प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच शैय्याको स्वास्थ्य संस्था स्थापना गर्ने निर्णय गरेपछि भच्चेक स्वास्थ्य चौकीलाई अस्पतालमा रूपान्तरण गर्याे। तर, निजी क्षेत्रमा खोलिएका अस्पताल मापदण्ड नपुगी सञ्चालन गर्दा जनस्वास्थ्यमा जोखिम निम्त्याएको उदाहरण यहि अस्पतालका कारण बन्न पुग्याे।
भच्चेकमा रहेको सरकारी तहको आधारभूत अस्पतालले स्वास्थ्य सेवाको गुणस्तरका दृष्टिले हालै गण्डकी प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रममा गोरखा जिल्लामा पहिलो र अजिरकोट गाउँपालिकालाई तेस्रो हुन पुग्याे। गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका स्वास्थ्य संस्थामध्ये भच्चेक स्वास्थ्य चाैकीकाे कार्यक्रमहरू, सेवा प्रभावकारिता, बजेट उपयोग, पूर्वाधार सुधारजस्ता मापदण्डमा मूल्यांकन गर्दा यस्तो उपलब्धि हासिल गरेकाे थियाे।
अहिले याे आधारभूत अस्पताल पूर्ण रूपमा सञ्चालन हुन लागि रहेको छ । आवश्यक स्वास्थ्यकर्मीसहित सुविधा सम्पन्न भवन पनि निर्माण भएको छ । गाउँपालिकाले मातृ तथा शिशु स्वास्थ्य सेवा प्रवर्द्धन, खोप कार्यक्रमको सशक्त कार्यान्वयन, महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता र आधारभूत सेवा विस्तारमा देखाएको सफलता प्रदेशस्तरमै प्रशंसायोग्य देखिएपछि भच्चेक मोर्डन अस्पतालका लगानीकर्ता निराश भएका थिए ।
उता, आधारभूत अस्पतालमा ८५ प्रकारका औषधि तथा ५५ भन्दा बढी सेवा निःशुल्क प्रदान गर्नुपर्ने नीति तथा स्वास्थ्य वीमासमेत लागू भएपछि निजी अस्पतालहरूको आम्दानीमा असर परेको थियाे। यही कारणले भच्चेक मोर्डन अस्पतालका सञ्चालकहरूले सञ्चालन गर्नु भन्दा बन्द गर्नु उचित ठानेर अस्पताल बन्द गरेको सञ्चालकहरू बताउँछन्।
सञ्चालकका अनुसार अस्पताल सञ्चालन गर्न गाह्रो हुँदै गएको र जनशक्ति व्यवस्थापन गर्न नसक्दा बाध्यतावश बन्द गर्नु परेको उनको तर्क छ । ‘हामीले सक्दो प्रयास गर्यौँ, तर अब संस्था धान्न सकिने अवस्था भएन,’ नाम नबताउने सर्तमा भने ‘चिकित्सकदेखि प्राविधिक कर्मचारीसम्मको अभाव बढ्दै गयो। सेवाको गुणस्तर खस्किन थालिसकेको अवस्थामा हामीलाई जिम्मेवारीपूर्वक निर्णय लिनुपर्ने भयो।’
गाउँपालिकाले विगतमा पटक–पटक अस्पतालका सञ्चालकलाई दर्ता र नवीकरण प्रक्रिया पूरा गर्न पत्राचार गरेको दाबी गरेको छ। तर अस्पताल सञ्चालक सम्पर्कमा नआएको र स्थानीय सरकारबाट गरिएको अनुगमनका क्रममा अस्पतालले सरकारद्वारा तोकिएको मापदण्डको ३५ प्रतिशतसम्म पनि पालना नगरेको आरोप लगाइएको छ।
गाउँपालिका एक जनप्रतिनिधिका अनुसार ‘स्थानीय सरकारको भूगोलभित्र रही सरकारले तोकेको मापदण्ड, नियम, कानुन, परिधिभित्र रही व्यवसाय गर्न पाउने अधिकार भए पनि मापदण्ड विपरीत जानु गाउँपालिकाका लागि स्वीकार्य छैन।’

प्रतिक्रिया