काठमाडौं– अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर ओलीसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले प्रशासकीय अधिकृत ओलीसहित गाउँपालिकाका प्राविधिक दलबहादुर ओली, लेखापाल महेन्द्र शर्मा र मालिका बस्नेत निर्माण सेवा छेडगाडा कम्पनीका प्रोप्राइटर शान्तबहादुर बस्नेतसहित ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरेको हो ।
उनीहरूमाथि गाउँपालिकाको वडा नम्बर २ मा पिपलकाँडँ मेलगौरी सडक निर्माण योजनामा अनियमितता गरी २१ लाख ६३ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ ।
सडक निर्माण योजनाको लागि संघीय सरकारबाट प्राप्त रकममध्येबाट लागत अनुमान भ्याट सहित १ करोड ९९ लाख ८२ हजार ७९३ रुपैयाँ कायम भएको उक्त योजना सञ्चालनको लागि गाउँपालिका र मालिका बस्नेत निर्माण सेवा छेडागाडबीच ७७ लाख ४४ हजार ५७० रुपैयाँमा सम्झौता भएकाे थियाे ।
निर्माण कार्य फिल्ड प्रतिवेदन अनुसार फिल्डमा २९०० मिटर मात्र बाटो निर्माण भएकोमा नापी किताबमा ३७०० मिटर उल्लेख गरी फिल्डमा भएको काम भन्दा बढी सड़क निर्माण भएको भनी नापी किताब तयार गरे गराएको, लागत अनुमान, सम्झौता पत्र र जिल्ला दररेट अनुसार कार्य सम्पन्न भएको भनी प्राप्त भएको अनुगमन प्रतिवेदनमा अनुगमन गर्ने पदाधिकारीहरुको हस्ताक्षर नै नभएकोले प्रतिवादीहरुको मिलेमतो र संलग्नतामा बदनियतपूर्वक निर्धारित मापदण्ड विपरीत भएको निर्माण कार्यलाई लुकाई छिपाई मापदण्ड बमोजिम भएको भनी नभए नगरेको कामको समेत भए गरेको भन्ने झुट्टा एवं गलत कार्य सम्पन्न प्रतिवेदन बनाएका थिए ।
साथै अनुगमन प्रतिवेदन तयार गरी गराई सोको आधारमा २१ लाख ६३ हजार ८६५रुपैयाँ निर्माण व्यवसायीलाई बढी भुक्तानी दिनेरलिने कार्य गरी गाउँपालिका, रुकुम पश्चिमलाई हानी नोक्सानी र आफूहरुलाई गैरकानूनी लाभ पुऱ्याउने कार्य गरेको पुष्टि भएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।
प्रतिक्रिया