गोरखा– सहिदलखन गाउँपालिका वडा नम्बर ७ लगातार दोस्रो पटक उत्कृष्ट वडा घोषित भएको छ। चालु आर्थिक वर्ष २०८१/८२ का सम्पूर्ण भौतिक पूर्वाधार निर्माण योजनाहरू माघ महिनाभित्रै सम्पन्न गर्दै प्रभावकारी सेवा प्रवाहमा अग्रस्थानमा देखिएको सो वडालाई गाउँपालिकाले उत्कृष्टको रूपमा छनोट गरेको हो।
गत वर्ष पनि पालिकाले उत्कृष्ट वडा घोषित गरेको वडा नम्बर ७ ले यो वर्ष पनि यथावत् प्रदर्शन गर्दै पुनः उत्कृष्टताको उपाधि हात पारेको हो। गाउँपालिकाले आन्तरिक मूल्यांकनमार्फत विभिन्न सूचकहरूमा आधारित रही वडाहरूको कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ। यस वर्षको मूल्यांकनमा पनि वडा नं ७ सबै सूचकहरूमा उत्कृष्ट देखिएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले जानकारी दिए।
उनका अनुसार योजना छनोटदेखि सम्झौता प्रक्रिया, कार्यान्वयन, रकमको रकमान्तर, भुक्तानी प्रक्रिया, सेवा प्रवाहको गुणस्तर, राजस्व संकलन, बेरुजु अवस्था र सुशासन जस्ता विविध सूचकहरूलाई आधार मानेर मूल्यांकन गरिएको थियो। सोही आधारमा वडाले प्राप्त गरेको कार्यसम्पादन मूल्यांकनमा उच्च अंकले यो उपाधि प्राप्त गरेको हो।
पालिका अध्यक्ष मगरका अनुसार उत्कृष्ट वडालाई प्रोत्साहनस्वरूप थप पाँच लाख रुपैयाँको बजेट प्रदान गरिन्छ, जुन रकम भौतिक पूर्वाधार निर्माणका लागि मात्र प्रयोग गर्न पाइनेछ। उनले भने, ‘रकम सानो भए पनि यसको अर्थ ठूलो छ। यसले अन्य वडाहरूलाई पनि कामप्रति प्रेरित बनाउँछ। काम गर्ने जोश र हौसला बढाउनका लागि यो कार्यक्रम ल्याइएको हो।’
वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठले यो उपलब्धिलाई वडाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासीबीचको समन्वय, इमानदारिता र सहकार्यको प्रतिफल भएको बताए। उनका अनुसार योजनाको छनोटदेखि निर्माण कार्य सम्पन्न गर्ने प्रक्रियासम्म वडाले कुनै ढिलाइ नगरी सबै काम तोकिएको समयभित्र सम्पन्न गरेको थियो।
वडाध्यक्ष श्रेष्ठ भन्छन्, ‘जनप्रतिनिधि, वडाका कर्मचारी, टोल विकास समिति, राजनीतिक दलहरू र विभिन्न संघ संस्थासँगको सहकार्यले यो सफलता सम्भव भएको हो। पालिकाले तोकेको मापदण्ड र सूचकअनुसार इमान्दारताका साथ काम गरेकै कारण हामी पुनः उत्कृष्ट बन्न सफल भएका हौँ।’
गाउँपालिकाले २०८० सालदेखि वडाहरूको कार्यसम्पादन मूल्यांकन गर्दै आएको हो। मूल्यांकनको समयावधि वैशाखदेखि चैत मसान्तसम्मको रहेको छ। मूल्यांकन सूचकहरूलाई समयानुकूल परिमार्जन गर्दै जाने योजना रहेको अध्यक्ष मगरले बताए। उनका अनुसार समीक्षा बैठकमार्फत मूल्यांकन प्रणालीलाई अझ व्यवहारिक, पारदर्शी र समावेशी बनाउने तयारीमा पालिका जुटेको छ।
लगातार दुईपटक उत्कृष्ट वडाको उपाधि पाएको वडा नम्बर ७ अब अन्य वडाहरूका लागि प्रेरणादायी नमूना बन्न पुगेको छ। गाउँपालिकास्तरमा सकारात्मक प्रतिस्पर्धा, पारदर्शिता र नतिजामुखी सेवा प्रवाहलाई प्रोत्साहित गर्न यस्तो कार्यक्रम प्रभावकारी देखिएको पालिकाको भनाइ छ।
वडाध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि योजनाबद्ध, समावेशी र जनउत्तरदायी ढंगले सेवा प्रवाहमा निरन्तर सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार वडाले चालु आवको दोस्रो चौमासिक नसकिँदै पूर्वाधार निर्माणसम्बन्धी सबै योजनाहरू माघ महिनामै सम्पन्न गरेर उत्कृष्टताको मानक पूरा गरेको हो।
उपलब्ध बजेट र सीमित स्रोतको अधिकतम उपयोग गर्दै वडाले पाएको यो उपलब्धिले सेवा प्रवाहको स्तर अझ उकास्ने अपेक्षा गरिएको छ। पालिकाको तर्फबाट यो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने भएको छ।
प्रतिक्रिया