गोरखा– अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले गाउँमै रोजगारी र अवसर सिर्जना गर्ने दिशामा स्थानीय सरकार प्रतिबद्ध रहेको बताएका छन्।
एक सामुदायिक कार्यक्रममा बोल्दै उनले स्थानीय स्रोत, श्रम र सम्भावनाको अधिकतम उपयोग गर्दै गाउँमै स्वावलम्बी अर्थतन्त्रको जग बसाल्नुपर्नेमा जोड दिए।
अध्यक्ष देवकोटाले समसामयिक सन्दर्भ र गाउँपालिकाको वर्तमान योजनाबारे खुलेर चर्चा गरे। उनले पछिल्ला दिनहरूमा केही समूह वा व्यक्तिहरूले आधारहीन आलोचना गर्दै जनमानसमा भ्रम सिर्जना गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै ती कुराहरूप्रति सजग रहन आग्रह गरे। ‘विकासको बाटोमा लाग्दा चुनौती आउँछ, तर हामी विचलित छैनौँ,’ उनले भने, ‘हामी तथ्यमा आधारित भएर, जनताको भरोसा बोकेर अघि बढिरहेका छौँ।’
उनका अनुसार अहिले गाउँपालिकाले कृषि, पशुपालन, घरेलु तथा साना उद्योग, पर्यटन, सीपमूलक तालिम र स्थानीय पूर्वाधार निर्माणमा विशेष प्राथमिकता दिइरहेको बताए। यी सबै प्रयासहरू रोजगारी सिर्जना र जनजीविकाको स्तर उकास्ने दीर्घकालीन योजनासँग जोडिएको उनले स्पष्ट पारे। ‘हामी चाहन्छौँ, हाम्रो युवा शक्ति गाउँमै टिकुन्, उनीहरूले यहीँ काम गरून्, यहीँबाट आफ्नो भविष्य बनाओस्,’ उनले भने, ‘त्यसका लागि योजनाबद्ध तरिकाले सम्भावनाहरू पहिचान गरी कार्यान्वयन गरिरहेका छौँ।’
उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यटन विकासलाई एकसाथ अघि बढाउने नीति लिएको जनाउँदै भने, ‘अब जनताले अनुभूति गर्न सक्ने कामको आवश्यकता छ। देखिने, छोइने र असर पार्ने विकासमा हामी विश्वास गर्छौँ।’ खरिबोट क्षेत्रलाई विशेष प्राथमिकताका साथ विकासमा अगाडि ल्याउन स्थानीय जनघनत्व, भौगोलिक अवस्था र सामाजिक आवश्यकताको अध्ययनका आधारमा योजना बनाइएको उनकाे दाबी थियाे ।
कार्यक्रमको क्रममा उनले स्थानीय सरकारलाई जनतासँग नजिक राख्ने कार्यशैली आवश्यक रहेको बताए। ‘हामी जनताका प्रतिनिधि हौँ,’ उनले भने, ‘तपाईंहरूका गुनासो, सुझाव र अपेक्षा हामी सुन्छौँ, बुझ्छौँ र समाधानका उपायहरू खोज्दै अगाडि बढ्छौँ।’
उनले सार्वजनिक सुनुवाइ, छलफल र प्रत्यक्ष सहभागितामार्फत पारदर्शिता र जबाफदेहितालाई मजबुत बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे। ‘नारा होइन, व्यवहारिक काम हाम्रो प्राथमिकता हो,’ उनकाे जोड थियाे।
स्थानीय युवाहरूले पनि सरकारको कामप्रति प्रतिक्रिया दिएका थिए। एक सहभागी युवाले भने, ‘पहिला नेताहरू आउँथे, बोलेर जान्थे, तर अहिले भने पालिका आफैँ गाउँमा आएर कुरा सुन्दैछ, छलफल गर्दैछ यो निकै सकारात्मक परिवर्तन हो।’
प्रतिक्रिया