+
Search

ताजा अपडेट +

पपुलर +

सीईओको राजीनामा

संकटमा एनआईसी एशिया बैंक: आठ महिनामै मुनाफा ६७.७५ प्रतिशतले घट्यो

चालु आर्थिक वर्षको आठ महिनामा एनआइसी एशिया बैंकले ६७ प्रतिशतभन्दा बढी मुनाफा गुमाउँदै संकटको सामना गरिरहेको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकको मुनाफा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा घटेर ८१ करोड रुपैयाँमा झरेको छ। खराब कर्जाको वृद्धि, ब्याज दरमा आएको गिरावट र सञ्चालन खर्चमा भएको वृद्धिले बैंकको आम्दानीमा प्रत्यक्ष असर पुर्‍याएको देखिन्छ।

पालिका लाइभ
२०८२ बैशाख १२, शुक्रबार १०:०७ गते

काठमाडौं– प्रमुख वाणिज्य बैंकहरूमध्ये एक एनआइसी एशिया बैंक अहिले गम्भीर संकटको सामना गरिरहेको छ। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा बैंकको मुनाफा अघिल्लो वर्षको तुलनामा ६७.७५ प्रतिशतले घटेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको समान अवधिमा २ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष केवल ८१ करोड रुपैयाँ मात्र नाफा गर्न सकेको छ। यसले बैंकको व्यवस्थापन, रणनीति र वित्तीय अनुशासनप्रति गम्भीर प्रश्न उठाएको छ।

यो गिरावट एकाएक आएको होइन। विगत केही वर्षयता बैंकले आक्रामक व्यवसाय विस्तारको रणनीति अपनाउँदै आएको थियो। शाखा विस्तारदेखि डिजिटल सेवाको विस्तारसम्मका कार्यहरू सीईओ रोशनकुमार न्यौपानेको नेतृत्वमा भएको भए पनि, त्यस क्रममा कर्जा प्रवाहमा देखिएको लापरबाही अहिले बैंकको संकटको मुख्य कारण बनेको छ।

न्यौपाने सन् २०७५ मंसिरमा एनआइसी एशियाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । २०७९ कात्तिकमा उनको कार्यकाल चार वर्षका लागि थप गरिएको थियो। तर वित्तीय सूचकहरू बिग्रँदै जाँदा उनले कार्यकाल समाप्त नहुँदै राजीनामा दिएकाे स्राेतकाे दाबी छ। स्रोतहरूका अनुसार उनले राजीनामा पत्र बुझाए पनि बैंक सञ्चालक समितिले हालसम्म स्वीकृति दिएको छैन। समितिका केही सदस्यहरू संकटको बेलामा सीईओ बाहिरिनुले थप नकारात्मक सन्देश जान सक्ने भन्दै तत्काल स्वीकृति दिन हिचकिचाइरहेका छन्।

बैंकको मुनाफा घट्नुको प्रमुख कारणमध्ये एक कर्जा प्रवाहमा आएको गिरावट हो। चालु आर्थिक वर्षमा बैंकहरूले कर्जा वितरणमा लक्ष्य अनुसारको वृद्धि गर्न सकेका छैनन्।

कर्जाको मागमा कमी आएको, समयमै कर्जा फिर्ता नहुनु र खराब कर्जा दर ह्वात्तै बढेको कारणले बैंकको आम्दानीमा गम्भीर असर परेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको खराब कर्जा दर ४.६१ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको १.१९ प्रतिशतको तुलनामा अत्यधिक वृद्धि हो। यसले बैंकको जोखिम व्यवस्थापन प्रणाली कमजोर रहेको स्पष्ट देखाउँछ।

यसका साथै, ब्याजदरमा आएको गिरावटले पनि बैंकलाई ठूलो असर पारेको छ। अघिल्ला वर्षहरूमा उच्च ब्याजदरका कारण बैंकहरू ऋणबाट राम्रो आम्दानी गर्न सफल भएका थिए। तर पछिल्लो समयमा ब्याजदर घट्दै गएको र बजारमा तरलता प्रशस्त भएको कारणले ऋणको माग घटेको छ। यसले बैंकको ब्याज आम्दानीमा सीधा असर गरेको छ। विशेषतः रिटेल र व्यापारिक ऋणको माग कम हुनुले बैंकको आम्दानीमा गिरावट आएको देखिन्छ।

सीईओ न्यौपानेको कार्यकालमा बैंकले आक्रामक रूपमा व्यवसाय विस्तार मात्र होइन, अनियमित रूपमा कर्जा प्रवाह गरेको आरोप पनि लागेको छ। कर्जा वर्गीकरण, जोखिम मूल्याङ्कन तथा नाफा देखाउने शैलीहरूमा नियामक मापदण्डको पर्याप्त पालना नगरिएको भेटिएको छ। यिनै कारणहरूले गर्दा राष्ट्र बैंकले एनआइसी एशिया बैंकमाथि विशेष निगरानी बढाएको छ।

नेपाल राष्ट्र बैंकले स्थलगत निरीक्षणका क्रममा बैंकमा गम्भीर अनियमितता फेला पारेको छ। राष्ट्र बैंकका अनुसार बैंकले सञ्चालक, तिनका परिवार सदस्यहरू तथा सम्बद्ध संस्थाहरूलाई तोकिएको ब्याजदरभन्दा बढी ब्याज दिएको पाइएको छ। कतिपय मुद्दती खाताहरू पुरानो मिति कायम गरेर खोलिएको र त्यसमा बढी ब्याज प्रदान गरिएको देखिएको छ। यस्ता कार्यहरू बैंकिङ नियमविपरीत भएकोले राष्ट्र बैंकले बैंकका सीईओसहित अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालक त्रिलोकचन्द्र अग्रवाल र रामचन्द्र संघाईलाई राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा २ (क) बमोजिम नसिहत दिएको हो।

त्यति मात्र होइन, बैंकले कर्जा वर्गीकरणसम्बन्धी निर्देशन, पूँजीकोष तथा जोखिमभार व्यवस्थापन, ब्याजदर निर्धारण, संस्थागत सुशासनलगायतका धेरै नियामक निर्देशनहरू पालना नगरेको पाइएको छ। यसबारेमा राष्ट्र बैंकले बैंकलाई सुधारको कार्ययोजना बनाई कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ। साथै, बैंकले अन्य क्षेत्रका कर्जालाई आवासीय कर्जा शीर्षकमा रूपान्तरण गरेर ऋण प्रवाह गरेको, लघुवित्त कम्पनीलाई ऋण दिएर अर्को दिन फिर्ता गरेर नाफा देखाउने जस्ता क्रियाकलाप पनि गरेको आरोप लागेको छ। यी गतिविधिहरू नियामक निकायद्वारा कडाइका साथ अनुगमन भइरहेको जनाइएको छ।

बैंकको मुनाफा घट्दै गएपछि लगानीकर्ताहरू पनि निराश बनेका छन्। चालु आर्थिक वर्षको पहिलो दुई त्रैमासमा वितरणयोग्य नाफा ऋणात्मक रहेकोले बैंकले लाभांश वितरण गर्ने अवस्था छैन। यसअघि पनि बैंकले आव २०७७/७८ र २०७८/७९ मा लाभांश वितरण गर्न पाएको थिएन। हालसम्म लाभांश पाउने आशामा रहेका लगानीकर्ताहरूको विश्वासमा गिरावट आएको छ। अघिल्लो वर्ष भने बैंकले २९ प्रतिशत बोनस सेयर र १.५२ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो।

कम्पनीको स्थायित्व र विश्वसनीयता टिकाइराख्न अब बैंकले ठोस सुधार कार्यक्रम अघि सार्नुपर्ने अवस्था आएको छ। जोखिमयुक्त कर्जा व्यवस्थापन, संस्थागत सुशासन, पारदर्शी वित्तीय अभ्यास, नियामक नियमहरूको कडाइका साथ पालना तथा नेतृत्वमा स्थायित्व ल्याउन नसके बैंक अझ गहिरो संकटमा जानसक्ने प्रस्ट संकेत देखिन्छ। राष्ट्र बैंकको निर्देशन र कारबाहीपछि अब बैंकलाई केवल घाटा न्यूनीकरण गर्ने मात्र नभई गुमाउँदै गएको विश्वास पुनः स्थापित गर्ने चुनौती पनि उत्तिकै ठूलो रहेको छ।

एनआइसी एशिया बैंक नेपालको वाणिज्य बैंकिङ क्षेत्रमा अग्रणी बैंकहरूमध्ये पर्दै आएको हो। तर, पछिल्ला घटनाक्रमले देखाएको छ कि केवल संख्यात्मक वृद्धिमा केन्द्रित व्यवसाय विस्तारले दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न सक्दैन। यो अवस्था एनआइसी एशिया मात्र नभई अन्य बैंकहरूका लागि पनि चेतावनी हो कि जोखिम मूल्याङ्कन बिना गरिएको विस्तार, मुनाफा देखाउने कृत्रिम प्रयास तथा नियामक नीतिहरूको उपेक्षा अन्ततः संस्थालाई संकटमा पुर्‍याउन सक्छ।

याे पनि,

एनआईसीका अध्यक्ष तुलसीराम अग्रवाल किर्ते कार्यमा संलग्न

संकटमा एनआईसी एसिया, धमाधम बेच्दै स्वामित्वको शेयर

‘बैंक पनि साथी पनि’ भन्दै साथीलाई नै लुट्दै एनआईसी एसिया बैंक

काण्डै-काण्डपछि संकटको बाटोमा एनआईसी एशिया : नाफामा उच्च गिरावट, कर्जा असुली गर्न छुट तर ‘असफल’

संकटको बाटो पछ्याउँदै एनआईसी एसिया, निफ्राबाट किन बाहिरियो?

बैंकको आतंक बढ्दै, ऋणीलाई दिनरात टर्चर दिदैं एनआइसी एसिया, राष्ट्र बैक मूकदर्शक!

धापासीको अर्बौँको जग्गा कौडीको भाउमा कब्जा गर्दै ‘एनआईसी एशिया’

संकटमा एनआइसी: ‘रिकभरी’मा समस्यापछि भाखा नाघेका ऋणीलाई भुक्तानीमा छुट

संकटको बाटो पछ्याउँदै एनआईसी एशिया, ऋण भन्दा धितो असुलेर ‘बिचल्ली बनाउन उद्यत’

संकटमा एनआईसी: ऋण उठाउन नसकेपछि गुहार्‍यो ‘कम्पनी रजिस्ट्रार कार्यालय’

संकटमा एनआईसी: भू-माफियाको मिलेमतोमा ऋणीको धितो बिक्री, स्थानीय आन्दोलित

संकटमा एनआईसी एशिया बैंक, सेयर भाउ निरन्तर ओरालो

संकटमा एनआईसी एसिया बैंक, राष्ट्र बैंकले गर्‍यो कारबाही

एनआईसीका कम्युनिकेसन प्रमुख भट्टराई कारबाहीमा, मिडियाबाट अनुचित लाभ लिएको आरोप

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics