+
Search

ताजा अपडेट +

पपुलर +

२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा, कुन कुन पर्वमा पर्‍यो

पालिका लाइभ
२०८२ बैशाख १, सोमबार १२:२७ गते

काठमाडौं– नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने छ । नेपालमा राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा ५२ वटा शनिवार र थप ३६ दिन देशभर चाडपर्व एवम् दिवसका बिदा हुने छन् ।

दसैँमा सात दिन र तिहारमा पाँच दिन समेत गरी विभिन्न पर्वहरूको बिदा २८ दिन हुने छ । यसैगरी, अन्तर्राष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस गरी ६ दिन देशभर सार्वजनिक बिदा हुनेछ ।

ती बाहेक विभिन्न पालिकाहरूले स्थान विशेष मनाइने चाडपर्वको बिदा दिन पाउने छन् । साथै विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले दिन सक्ने छन् ।

हेर्नुहोस् २०८२ सालका चाडपर्व र दिवसको बिदा

वैशाख

वैशाखमा चार दिन शनिवारको बिदा छ । त्यसबाहेक नयाँ वर्षको अवसरमा वैशाख १ गते र वैशाख १८ गते विश्व मजदुर दिवसको बिदा छ । चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), बुद्ध जयन्ती, राई, लिम्बू, याक्खा, सुनुवार लगायतका किराँत समुदायको उभौली पर्वको अवसरमा वैशाख २९ गते पनि सार्वजनिक बिदा छ ।

जेठ

जेठ महिनामा पाँच दिन शनिवारको सार्वजनिक बिदा छ । त्यसबाहेक जेठ १५ गते गणतन्त्र दिवसको एक दिन बिदा छ ।

असार

असारमा चार दिन सार्वजनिक बिदा छ । त्यसबाहेक असार महिनामा एक दिन पनि सार्वजनिक बिदा छैन ।

साउन

साउनमा पाँच दिन शनिवारको बिदा छ । २४ गते शनिवारकै दिन रक्षाबन्धन तथा जनैपूर्णिमा परेको छ ।

साउन २५ गते आइतबार गाईजात्रा पर्वको बिदा छ । यस दिन काठमाडौं उपत्यकामा मात्र बिदा हुने छ । ३१ गते श्रीकृष्ण जन्माष्टमी पर्व पनि शनिवार नै परेको छ ।

भदौ

भदौमा चार शनिवार परेका छन् । भदौ ७ गते शनिवारको दिन बुवाको मुख हेर्ने दिन परेको छ । १० गते हरितालिका (तीज)को दिन महिला कर्मचारीहरूलाई मात्र बिदा हुने छ ।

भदौ १५ गते गौरा पर्व र भदौ २१ गते इन्द्रजात्रा परेका छन् । इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्र बिदा हुने छ । ३० गते जितिया पर्व परेको छ । यस दिन जितिया पर्व मनाउने महिलाहरू कर्मचारीहरूलाई मात्र बिदा हुने छ ।

असोज

असोज महिनामा चार शनिवार परेका छन् । असोज ३ गते शुक्रवारको दिन संविधान दिवसको बिदा छ ।

असोज ६ गतेदेखि नेपालीहरूको महान चाड बडा दसैँ सुरु हुने छ । यस दिन घटस्थापना परेको छ ।

त्यसपछि असोज १३ गते सोमबारको फूलपातीदेखि असोज १८ गते शनिवारसम्म दसैँ बिदा छ । १६ गते दसैँको टीकाको दिन छ ।

कात्तिक

कात्तिक महिनामा पाँच शनिवार परेका छन् । १ गते शनिवार तिहारको धनतेरसको दिन परेको छ । २ गते आइतबार काग तिहार छ । ३ गते काग तिहारको एक दिन कार्यालयहरू खुले पनि ३ गतेदेखि ७ गतेसम्म तिहार बिदा छ । ६ गते भाइटिकाको दिन परेको छ । त्यसपछि कात्तिक १० गते छठ पर्वको बिदा हुने छ । कात्तिक २५ गते फाल्गुननन्द जयन्ती छ । यस दिन किराँत धर्मावलम्बीका लागिमात्र बिदा हुने छ ।

मंसिर

मंसिर महिनामा चार दिन शनिवारको बिदा हुने छ । मंसिर १७ गते धान्य पूर्णिमा, किराँत समुदायको उँधौली पर्व, योमरी पुन्हि र अन्तर्राष्ट्रिय अपाङ्गता दिवस परेको छ । मंसिर १८ गते ज्यापु दिवसको बिदा छ ।

पुस

पुसमा चार शनिवार परेका छन् । पुस १० गते इसाई धर्मावलम्बीको पर्व क्रिसमस डेको बिदा छ । यसैगरी पुस १५ गते मंगलबार तमु ल्होसार र पुस २७ गते आइतबार पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको बिदा छ ।

माघ

माघ महिनामा चार शनिवार परेका छन् । १ गते माघी पर्व अर्थात् माघे संक्रान्तिको दिन सार्वजनिक बिदा हुने छ । यसैगरी माघ ५ गते सोनम ल्होसार, ९ गते सरस्वती पूजा र १६ गते शहीद दिवस परेको छ ।

फागुन

फागुन महिनामा ५ शनिवार परेका छन् । २ गते शनिवार र ३ गते महाशिवरात्रिको बिदा हुने छ ।

फागुन ६ गते ग्याल्पो ल्होसार र ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस छ । यसैगरी १८ गते हिमाली र पहाडी जिल्लामा होली पर्वको बिदा छ । १९ गते तराई मधेशका जिल्लामा होलीको बिदा हुने छ । त्यसपछि फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) को सार्वजनिक बिदा हुने छ ।

चैत

चैतमा चार शनिवार परेका छन् । चार गते घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा छ । चैत १३ गते शुक्रवार रामनवमीको बिदा हुने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ