काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्ष २०८२ सालको शुभकामना दिएका छन् ।
आइतबार साँझ एक भिडियो सन्देश जारी गर्दै उनले सम्पूर्ण नेपालीहरुमा नयाँ वर्षको शुभकामना दिएका हुन् ।
त्यसअवसरमा उनले २०८२ साल नयाँ अवसर र चुनौती लिएर प्रस्तुत भएको बताए । जनताको अधिकारलाई ऐतिहासिक रुपमा सुनिश्चित गरेको संविधानको पूर्ण कार्यान्वयन नहुँदा लोकतान्त्रिक प्रणालीप्रति कतिपयले प्रश्न उठाउन खोजिरहेको बताए ।
सरकारले दलाल र विचौलियाको पक्षमा स्वेच्छाचारी निर्णय लिरहँदा जनआक्रोश बढिरहेको बताए ।
उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र भएको समेत बताए ।
शुभकामना
नयाँ वर्ष २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली जनसमुदायमा सुस्वास्थ्य, दीर्घायु र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा विश्वास र प्रतिबद्धता व्यक्त गर्ने सम्पूर्ण नेपाली जनताप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।
२०८२ साल नयाँ चुनौती र अवसरहरू लिएर हाम्रो सामु उपस्थित भएको छ। जनताको अधिकारलाई ऐतिहासिक रूपमा सुनिश्चित गरेको हाम्रो संविधानको पूर्ण कार्यान्वयन नहुँदा लोकतान्त्रिक प्रणालीप्रति कतिपयले प्रश्न उठाउन खोज्दैछन् । सरकारले दलाल र विचौलियाहरुको पक्षमा स्वेच्छाचारी निर्णयहरू लिइरहँदा जनआक्रोश बढ्दै गएको छ, जसको फाइदा प्रतिगामी शक्तिहरूले लिन खोजिरहेका छन् । त्यसैले सरकारका जनविरोधी क्रियाकलाप र प्रतिगामी षड्यन्त्रविरुद्ध संयुक्त प्रतिरोध गर्नु आजको आवश्यकता बनेको छ ।
लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र हो भन्ने तथ्य स्पष्ट नै छ । नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र अग्रगामी परिवर्तन चाहन्छन् भन्ने तथ्य पुनः पुष्टि गर्दै नयाँ संकल्प लिन अग्रसर छन्। यही संकल्प र प्रतिबद्धता नै नयाँ वर्ष २०८२ को साँचो अर्थमा शुभकामना हुनेछ ।
हामी गौरवशाली इतिहास बोकेका सार्वभौम नेपाली हौं । हामीले न्याय, स्वतन्त्रता र समानताका लागि त्याग, तपस्या र बलिदानका कैयौं कीर्तिमान कायम गरेका छौं । हाम्रो भविष्य पछाडि फर्केर होइन, अगाडि बढेर मात्र उज्यालो बन्न सक्छ। त्यसैले देशको समृद्धि र उज्ज्वल भविष्यका लागि दृढतापूर्वक आफ्ना पाइलाहरु अघि बढाऔं। आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत रोजगारीको सिर्जना गरौं । सुशासनका नयाँ मानकहरु स्थापित गरौं । उन्नत र समृद्ध राष्ट्र निर्माण गर्न एकतावद्ध भएर अघि बढौं । नयाँ वर्षको अवसरमा यही दृढ संकल्प गर्न आह्वान गर्दै आम जनसमुदायमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
१ बैशाख २०८२
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
प्रतिक्रिया