काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विगत लामो समयदेखि उद्योग वाणिज्य महासंघले नेपाली उद्योग व्यवसायको प्रवर्द्धन र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले निजी क्षेत्रको छाता संगठनको रूपमा महासंघले व्यवसायका हकहितको संरक्षण गर्दै राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान अतुलनीय रहेको बताएका हुन् ।
उनले भने, ‘विगत लामो समयदेखि उद्योग वाणिज्य महासंघले नेपाली उद्योग व्यवसायको प्रवर्द्धन र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । निजी क्षेत्रको छाता संगठनको रूपमा महासंघले व्यवसायका हकहितको संरक्षण गर्दै राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान अतुलनीय रहेको छ । विश्वव्यापी आर्थिक मन्दीको प्रभाव, कोभिड १९ को महामारीले सिर्जना गरेको अवरोध र भूराजनीतिक अवस्थाका कारणले अर्थतन्त्रमा केही दबाब महसुस भएको छ । तर सरकारी चुनौतीहरूको सामना गर्दै अर्थतन्त्रलाई पुनः लयमा फर्काउन र दिगो आर्थिक विकासको मार्गचित्र कोर्न दृढसंकल्पित रहेको छ ।’
साथै मन्त्री भण्डारीले सरकारले उद्योग क्षेत्रको विकास उच्च प्राथमिकतामा राखेको बताए । उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवर्द्धन र विभिन्न नीतिगत तथा कार्यक्रम प्रयासहरू सरकारले थालिरहेको बताए ।
उनले भने, ‘उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको छ । हामीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवर्द्धन र विभिन्न नीतिगत तथा कार्यक्रम प्रयासहरू थालेका छौँ ।’
महासंघमा अध्यक्ष चन्द्र ढकालले उद्यमी व्यवसायीको मनोबल अहिले पनि बढ्न नसकेको बताएका छन् । उनले जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्यालासहितको रोजगारीमा अवसरहरू सिर्जना गर्न सक्दैनौँ निराशलाई आशामा बदल्न नसकिने बताए ।
उनले भने, ‘उद्यमी व्यवसायीको मनोबल अहिले पनि बढ्न नसकेको देशभरका करिब २४० संस्थाहरूसँग गरेको सर्वेक्षणमा देखाएको छ । यो प्रतिवेदन महासंघ छिट्टै सार्वजनिक समेत गर्नेछ । व्यक्तिगत रूपमा भन्ने हो भने म निराश होइन आशा चाहिँ छर्न चाहन्छु । अवस्था सुधारोन्मुख छ, तर हाम्रा युवाहरूको चाहना पूरा गर्न अहिलेको सुधार पर्याप्त छैन । जबसम्म देश भित्रै मर्यादित र उच्च ज्यालासहितको रोजगारीमा अवसरहरू सिर्जना गर्न सक्दैनौँ निराशलाई आशामा बदल्न सकिँदैन । अहिले व्याप्त निराश त्यसकै परिणाम हो ।’
प्रतिक्रिया