काठमाडौं– शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताले महसुस गर्ने गरी विकासका कामहरू गर्न आवश्यक रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले खाली प्रचारबाजीको लागि मात्र नभएर जनताले महसुस गर्ने गरी नै काम गरेर देखाउने समय आइसकेको बताए ।
उनले भने,‘अब हामीले खाली प्रचारबाजीको लागि यो गर्यौँ, त्यो गर्यौँ भन्ने होइन कि जनताले महसुस गर्ने गरी नै अब चाहिँ हामीले काम गरेर देखाउने समय चाहिँ आइसकेको छ । त्यो अनुसार हामीले काम अगाडि बढाउनुपर्छ । जे जति योजनाहरू हामीले अहिले सम्पन्न गरेको छौँ । त्यसको राम्रोसँग आम जनतालाई जानकारी गराउने र बाँकी भएको कामहरूलाई अगाडि बढाउँदा जनतालाई सुसूचित गराउनुपर्छ ।’
त्यस्तै उनले नदीहरूको करिडोर बनाउने काम प्रभावकारी रूपमा अगाडि बढाउने पनि प्रतिबद्धता जनाए ।
‘आउने बजेटमा बागमती विष्णुमती सबै नदीमा हामीले गर्ने भनेको नदीहरूमा नबसाउनको लागि हामीले गर्नुपर्ने के हो त्यसमा योजना बनाएर अगाडि बढ्ने बाहेक हामीसँग अरू उपाय छैन । नदीहरूको कोरिडोर बनाउने जुन काम छ ।त्यसलाई पनि प्रभावकारी रूपमा अगाडि बढाउनको लागि सबैसँग समन्वय गरेर व्यवस्थित रूपमा सुरु गर्न लाग्नुपर्छ ।’
प्रतिक्रिया