+
Search

ताजा अपडेट +

पपुलर +

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न गृहकार्य, समयसीमासहित कार्ययोजना कार्यान्वयन गरिने

पालिका लाइभ
२०८१ चैत्र २६, मंगलवार १७:०५ गते

काठमाडौं– नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण निर्देशक समितिको मंगलबार बसेको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रूप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ ।

जिम्मेवार निकायहरूले सम्बन्धित क्रियाकलापहरू सम्पन्न गर्ने समयसीमासहित कार्य योजना कार्यान्वयन गर्नेतर्फ अग्रसर भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न कार्य योजना अनुसार कार्य गर्दै गर्दा आगामी दिनमा नेपाल ग्रे लिष्टमा नपर्ने गरी दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको बताएका हुन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाललाई ग्रेलिष्टबाट बाहिर निकाल्न कानुनको कमी नभएको बताएका छन् ।

उनले इच्छाशक्ति लगाएर काम गर्ने हो भने नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सकिने धारणा व्यक्त गरे ।

महान्यायाधिवक्ता रमेश बडालले सबै निकायमा संस्थागत सुशासन हुन जरुरी रहेको बताए । मुख्य सचिव एकनारायण अर्यालले सबै निकायबीच समन्वय गरी प्राथमिकताका साथ काम गर्न जरुरी भएको बताए ।

उनले प्रविधिलाई जोड दिएर कार्य योजना अनुसार काम गर्दा नेपाल ग्रे लिष्टबाट बाहिर आउन सक्ने उल्लेख गरे ।

नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाले अन्तिम समयमा काम गर्ने भन्दा कार्य योजना अनुसार सुरुदेखि नै काम गर्न आवश्यक भएको बताए ।

बैठकमा सहभागीहरूले जोखिम मूल्यांकन, अन्तर निकाय समन्वय, नियमन तथा सुपरिवेक्षण, अनुसन्धान तथा अभियोजन, कसूरजन्य सम्पत्ति लगायतका क्षेत्रमा काम गर्न जरुरी रहेको बताउँदै कानुनमा भन्दा कार्यान्वयनमा जोड दिन आवश्यक भएको बताएका थिए ।

नेपाल गत फागुन ९ गते फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) को ग्रे लिष्टमा परेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ